काठमाडौँ । नेपाल पत्रकार महासङ्घले महासङ्घका पूर्वमहासचिव उजिर मगरलाई सुन तस्करीमा पक्राउ परेका दाबा छिरिङको बारेमा समाचार लेखेको भन्दै निजका आफन्तले ज्यान मार्ने धम्की दिनुका साथै सामाजिक सञ्जालबाट बदनामी गरिरहेको भन्दै आपत्ति जनाएको छ ।
‘समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचार खोज्नसकिने प्रावधान र स्थापित पद्धति हुँदाहुँदै पत्रकारलाई ज्यान मार्ने धम्की दिनु र सामाजिक सञ्जालमा बदनाम गर्ने काम हुनु अत्यन्त निन्दनीय तथा प्रेस स्वतन्त्रताको ठाडो उल्लङ्घन हो’ महासङ्घका महासचिव रोसन पुरीले २०८० साउन १८ गते बिहीबार विज्ञप्ति जारी गर्दै भनेका छन्– ‘सुन तस्करीको आरोपमा पक्राउ परेका छिरिङको नाममा पत्रकारमाथि खुलेआम सुरक्षा चुनौती आउनुले पत्रकारको सुरक्षाको विषय गम्भीर बनेको महासङ्घको ठहर छ ।’
पूर्वमहासचिव मगरको नाममा २०८० साउन १६ गते मंगलबार लोकान्तर डट कम मा “सुनकाण्डमा माओवादीका रोल्पाली नेतालाई टाउकोदुखाइ बनेकी थबाङकी अमला’ शीर्षकमा सुन तस्करीमा संलग्न भनी अनुसन्धानका लागि पक्राउ परेका तिब्बतीयन मुलका बेल्जियन नागरिक दावा छिरिङको बारेमा समाचार सम्प्रेषण भएको थियो ।
महासङ्घका अनुसार सोही विषयलाई लिएर अनुसन्धानका लागि पक्राउ परेका दावा छिरिङकी पत्नी अमला रोकाका बहिनी ज्वाइँ (बिन्दु बुढा) का पति बागलुङ, ढोरपाटन–४, वर्ष ४६ का खगेन्द्र छन्त्याल, कमलाकी भान्जी दीपा श्रेष्ठ, दाइ अमरले आफूलाई ज्यान मार्ने धम्की दिनुका साथै सामाजिक सञ्जालबाट बदनाम गर्ने काम गरिरहेका पूर्वमहासचिव मगरले महासङ्घलाई जानकारी गराएका छन् । साथै छिरिङसँग नाता जोडेका खगेन्द्र छन्त्यालले पनि पूर्वमहासचिव मगरलाई ‘जहाँ भेटिन्छ त्यहीँ मार्ने’ धम्की दिँदै आएको जानकारी प्राप्त भएको छ ।
महासङ्घले घटनालाई गम्भीरतापूर्वक लिई दोषीमाथि कारबाही गर्न र पत्रकारको सुरक्षामा गम्भीर हुन सरकारसँग जोडदार माग गरेको छ ।