बागलुङबजार । चियाबगैँचा घुम्न अब इलाम नै जानुनपर्ने भएको छ, बागलुङमा नै चियाबगैँचा घुम्न सकिने भएको छ ।
पाँच वर्षअघिसम्म वनमारा झारले ढाकिएको काठेखोला गाउँपालिका–७ रेशस्थित जनकल्याण निम्न माध्यामिक विद्यालय तिङरिङको नाममा रहेको पाखोबारीमा व्यावसायिक चियाखेती सुरु भएसँगै यस्तो सविधा उपलब्ध भएको हो ।
वनमाराले ढाकेको पाखो चियाबगैँचा बनेपछि आन्तरिक पर्यटक अवलोकनका लागि यहाँ पुग्न थालेका छन् । चियाबगैँचा हेर्न, सामाजिक सञ्जाल फेसबुक/टिकटकमा दृश्य सार्वजनिक गर्न आन्तरिक पर्यटक इलाम नगई रेशको चिया बगैँचामा आउने गरेका वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार यहाँ विभिन्न शैक्षिक कार्यक्रमअन्तर्गत अध्ययन, अनुसन्धान गर्न पनि विद्यार्थी आउने गरेका छन् ।
‘मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँका रूपमा रेश छनोट भएपछि चिया परीक्षणका लागि लगाएका थियौँ । यहाँको एक विद्यालय र सार्वजनिक जग्गा गरी ७२ रोपनीमा लगाएको चिया टिप्ने बेला भएको छ’ उहाँले भन्नुभयो– ‘यहाँ आउने पाहुनालाई कोसेलीका रूपमा सहकारीले चियाको ब्रान्ड बनाएर प्रदान गर्न थालेको छ ।’
वडाध्यक्ष लामिछानेले चिया बगैँचामा रमाउन अब इलाम जानुनपर्ने भन्दै अहिले बागलुङबजारबाट विद्यार्थी शैक्षिक अध्ययन तथा अवलोकनका लागि आउने गरेका बताउनुभयो ।
उहाँका अनुसार आन्तरिक पर्यटकलाई लक्षित गरी चियाबगैँचासम्म पुग्ने सडक, खानेपानीलगायत पूर्वाधार वडा कार्यालयले निर्माण गरिरहेको छ ।
रेशमा सञ्चालित चार सामुदायिक घरबास र चिया पर्यटनलाई जोडेर आगमी दिनमा बजेट तथा कार्यक्रम ल्याउने गरी योजना तयार गरिने वडाध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।
वडा कार्यालयको सहकार्यमा चिया सुकाउने औजार खरिद गरिएको बताउँदै उहाँले पछिल्लो समय ठुलो परिणाममा चिया उत्पादन हुन थालेपछि उद्योग सञ्चालनका लागि सरोकारवाला निकायसँग समन्यव भइरहेको जानकारी दिनुभयो ।
बागलुङको रेश पर्यटनको हिसाबले अत्यन्तै सम्भावना बोकेको ठाउँ रहेको बताउँदै धवलागिरि बहुमुखी क्याम्पसका प्राध्यापक डा दिनबहादुर थापाले स्थानीय सरकार, जनप्रतिनिधि, सर्वसाधारणका साथै नागरिका समाज मिलेर यस क्षेत्रको विकास गर्न आवश्यक रहेको बताउनुभयो ।
‘क्याम्पसका विद्यार्थीलाई चियाबगैँचामा अध्ययन/अवलोकन गराउन रेशको चियाबगैँचा पुर्याउने गरेका छौँ । विद्यार्थीलाई अब बगैँचा देखाउन इलाम वा अन्यत्र लैजानु पर्दैन’ उहाँले भन्नुभयो– ‘स्थानीयस्तरमा व्यावसायिक चियाखेती भइरहेको छ ।”
डा थापाले यहाँ आउने पर्यटकका लागि सुन्दर वातावरणसहित अर्गानिक खानाको परिकार, घरबासको आतिथ्यलगायत व्यवहारले लोभ्याउने बताउनुभयो ।
पाँच वर्षअघि गण्डकी प्रदेशले अघि सारेको मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँको रूपमा काठेखोला गाउँपालिका–७ रेश छनोट भएपछि सोही परियोजनाअन्तर्गत साना किसान सहकारीले बौर र तिङरिङको ७२ रोपनी खाली जमिनमा ६० हजार चियाका बोट लगाएको थियो । यहाँ चियाखेती गर्दा स्थानीयले २५ प्रतिशत श्रमदानसमेत गरेका थिए ।
विद्यालयको खाली जमिनमा लगाइएको चियाबाट आयआर्जन हुन थालेकाले विद्यालयको शैक्षिक र भौतिक सुधारमा केही रकम खर्च गर्नुपर्ने विद्यालयका प्रधानध्यापक थम्मन जिसीले बताउनुभयो । बौरको चिया बिक्रीबाट स्थानीय र तिङरिङको चियाखेतीबाट विद्यालयलाई प्रत्यक्ष लाभ पुगेको उहाँको भनाइ थियो ।
समुद्री सतहबाट १८ सय मिटरदेखि २३ सय मिटरसम्मको उचाइमा चियाखेती राम्रो मानिन्छ । यस विषयमा सम्भाव्यता अध्ययनपछि रेश चियाखेतीका लागि उपर्युक्त स्थानका रूपमा छनोट भएपछि व्यावसायिक चियाखेती सुरु गरिएको वडाध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । – खेमराज गौतम (रासस)