काठमाडौं । नेकपा (मसाल) ले पार्टी सदस्य बबिता थापा (का. प्रतीक्षा) को मृत्युले पार्टी आनदोलनमा गम्भीर क्षति पुगेको बताएको छ ।
महामन्त्री मोहनविक्रम सिंहले बुधबार शोक विज्ञप्ति प्रकाशित गरी ‘का. प्रतिक्षा हाम्रो पार्टीको इमान्दार, निष्ठावद्ध र अनुशासित सदस्य हुनुहुन्थ्यो’ भन्नुभएको छ ।
पार्टी निकट अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य थापाप्रति मसालले श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
शोक विज्ञप्तिमा भनिएको छ, अर्घाखाँची जिल्ला, भूमिकास्थान नगरपालिका निवासी का. बबिता थापा (का. प्रतीक्षा)को ३५ वर्षको उमेरमा उपचारको क्रममा २०८० श्रावण १५ गते मृत्यु भएको छ । का. प्रतीक्षाले विगत केही वर्षदेखि मिर्गौलाको उपचार गराइरहनुभएको थियो । हामीले उहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ ।
का. प्रतिक्षा हाम्रो पार्टीको इमान्दार, निष्ठावद्ध र अनुशासित सदस्य हुनुहुन्थ्यो । उहाँले विद्यार्थी आन्दोलनबाट आफ्नो राजनीतिक यात्र सुरु गर्नु भएको थियो र अखिल(छैठौँ)का विभिन्न तहमा रहेर लामो समयसम्म काम गर्नुभएको थियो । पछिल्लो समयमा उहाँ अखिल नेपाल बुद्धिजीवि संघको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । पार्टीमा उहाँ त्रिभुवन विश्वविद्यालय शाखाको सदस्यमा कार्यरत हुनुहुन्थ्यो । का. प्रतिक्षाको मृत्युबाट पार्टीले एउटा युवा होनाहार, प्रतिवद्ध र अनुशासित सदस्यलाई गुमाउनु परेको छ । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति भएको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
२०८० श्रावण १७ गते ।
मोहनविक्रम सिंह
महामन्त्री
अखिल (छैठौं) द्वारा स्मृतिशेष बबिताप्रति श्रद्धाञ्जली