काठमाडौं । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाका लेखापाल रौशन कुमार राउतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
राउतले सम्सी गाउँपालिका–५ मा सञ्चालन भएको कोभिड–१९ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न पश्चात उक्त कार्यक्रमको भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
सो सम्बन्धी सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज लेखापाल रौशन कुमार राउतलाई सेवाग्राहीबाट १ लाख २५ हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा असार २० गते नियन्त्रणमा लिएको थियो।
राउतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो एक लाख २५ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (घ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
कोटहीमाई गाउँपालिकाका इन्जिनियर यादवविरुद्ध भ्रष्टाचार मुद्दा
यता, रुपन्देही जिल्लाको कोटहीमाई गाउँपालिकाका इन्जिनियर (सेवा करार) अरविन्द कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
इन्जिनियर यादवले कोटहीमाई गाउँपालिका वडा नंं. ७ अन्तर्गतको सडक पीसीसी ढलान र ग्रावेल गर्ने कार्यको नापजाँच पश्चात भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरेको अख्तियारले जनाएको छ।
सो सम्बन्धी सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले यादवलाई सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा असार २० गते नियन्त्रणमा लिएको थियो।
यन्जिनियर यादवले गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१०) को कसुर भएको ठहर गर्दै अख्तियारले यादवलाई बिगो ४५ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको जनाएको छ।