पोखरा । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–१ खिलाङस्थित सेती नदीको बिच भागमा अड्किएका व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।
सुर्खेत जिल्ला घर भई सोही ठाउँ बस्ने २१ वर्षीय तेजबहादुर घर्तीमगर पौडी खेल्ने क्रममा नदीको बिच भागमा अड्किएका थिए । सोबारे जानकारी पाउनासाथ नं. २४ कालिका गण कास्कीबाट गोताखोर सहितको टोली खटिई उनको सकुशल उद्वार गरेको हो ।
त्यसैगरी सोही जिल्लाको पोखरा महानगरपालिका १८ स्थित साराङकोटमा पहिरोमा परी क्षति भएका दुईओटा घरको सामान सुरक्षित स्थानमा सारिएको छ ।

सोही ठाउँ बस्ने ४७ वर्षीय सुन्दर श्याम अधिकारी र ५० वर्षीय मैतकुमारी हमालको घरमा वर्षाको कारण पहिरो गई क्षती पुगेको थियो ।
घरमा रहेका खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा, फर्निचरलगायतका सामान नम्बर २४ कालिका गण कास्कीबाट खटिएको सशस्त्र प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा सुरक्षित स्थानमा सारेको हो ।
