मुम्बई (भारत) । भारतको महाराष्ट्र राज्यको जयपुरबाट मुम्बईतर्फ जाँदै गरेको रेलभित्र सोमबार बिहान रेलवे सुरक्षा बल (आरपीएफ) का एक जवानले गोली चलाउँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।
पश्चिम रेलवेका अनुसार, सी.टी. चेतन नाम गरेका सिपाहीले जयपुर–मुम्बई सेन्ट्रल एक्सप्रेस ट्रेनमा महाराष्ट्रको पालघर स्टेसन पार गरेपछि आरपिएफका असईसहित चार यात्रुमाथि गोली चलाएका थिए ।
पश्चिम रेलवेबाट प्राप्त जानकारीअनुसार आरोपी हवल्दारलाई हतियारसहित पक्राउ गरिएको छ । जयपुर–मुम्बई सेन्ट्रल एक्सप्रेस (ट्रेन नम्बर १२९५६) को बी फाइभ डिब्बामा उक्त घटना भएको आरपिएफका अधिकारीहरूले बताएका छन् ।
आरपिएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ : “ट्रेन नम्बर १२९५६ मा सोमबार बिहान ५:२३ मा बी५ कोचमा गोली चलेको खबर आएको थियो ।
अनुरक्षण (एस्कर्ट) सेवामा खटिएका सी.टी. चेतनले इन्चार्ज असई टीकाराममाथि गोली चलाएको पुष्टि भएको छ । रेल बी.भी.आई. मा आइपुग्नु पहिले प्राप्त अग्रिम जानकारीअनुसार, असर्ईको अतिरिक्त अन्य तीन सर्वसाधारणको हताहती भएको पनि रिपोर्ट गरिएको छ ।
आरपीएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ : “आक्रमणकारी असईलाई प्रहरीले समातेको छ र डी.सी.पी. नर्थ गभर्नमेन्ट रेलवे प्रहरीलाई खबर गरिएको छ भने यसबारे थप विस्तृत रिपोर्ट अनुसन्धानपछि जानकारी गराइने छ ।” (रासस/एएनआई)