जनकपुर धाम । मधेस प्रदेश सरकारका दुई मन्त्रीले पदबाट राजीनामा दिनुभएको छ ।
प्रदेश सरकारका बिनाविभागीय मन्त्री वसन्त कुशवाहा र बिनाविभागीय राज्यमन्त्री सञ्जयकुमार यादवले २०८० साउन १५ गते सोमबार मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाउनुभएको हो ।
उहाँहरू दुवै जना जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी हुनुहुन्थ्यो । जनमत पार्टीका नेता विपी साहका अनुसार दुवै मन्त्रीले पार्टीको निर्देशनअनुसार राजीनामा बुझाउनुभएको हो ।
यसअघि मन्त्री कुशवाहाले सम्हालेको भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी गत जेठ ९ गते मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा (एकीकृत समाजवादी) का गोविन्द न्यौपानेलाई दिनुभएको थियो । त्यसयता कुशवाहा बिनाविभागीय मन्त्रीको हैसियतमा हुनुहुन्थ्यो ।
नेता साहका अनुसार उहाँहरूको स्थानमा नयाँ दुई जनालाई मन्त्री सरकारमा पठाउने विषयमा छलफल भइरहेको छ ।
‘कुशवाहको ठाउँमा जनमत पार्टीका प्रमुख सचेतक चन्दन सिंह र यादवको स्थानमा सांसद रञ्जु खँगलाई सरकारमा पठाउने विषयमा छलफल भइरहेको छ’ साहले भन्नुभयो । (रासस)