काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमिक होइन सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गर्न चाहेको बताउनुभएको छ ।
एकीकृत विकास अध्ययन संस्थाले २०८० साउन १५ गते सोमबार आयोजना गरेको “नेपालमा सूचना प्रविधिको वृद्धि” विषयक कार्यक्रममा उहाँले सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताउनुभयोे ।
मन्त्री शर्माले सूचना प्रविधिमा स्नातक गरेका विद्यार्थीलाई सेवाप्रवेशका लागि सहयोग पुग्ने गरी निश्चित अवधि तोकेर तालिमको व्यवस्था गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
‘विश्वबजारमा जुन क्षेत्रमा जनशक्तिको माग भइरहेको छ । त्यसको अध्ययन गरी नेपालभित्रै सहज पठनपाठनका लागि पनि सरकारले पहल गर्ने छ’ उहाँले भन्नुभयो– ‘सरकाले सूचना प्रविधिको क्षेत्रमा छोटो व्यावसायिक तालिम दिन पनि सोचिरहेको छ ।’
सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको आकर्षण बढाउनका साथै उपलब्ध जनशक्तिको क्षमता अभिवृद्धि गर्न सूचना प्रविधि विषयमा स्नातकोत्तर, एमफिल र विद्यावारिधि गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कार्य यसै वर्षदेखि सुरु गरिएको मन्त्री शर्माको भनाइ थियो ।
उहाँले सूचना प्रविधिको क्षेत्रमा आवश्यक नीति र कानुन निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।
‘साइबर सुरक्षा नीति चाँडै मन्त्रिपरिषद्बाट पारित हुँदै छ भने अन्य आवश्यक कानुनको तयारीमा पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय जुटेको छ‘ मन्त्री शर्माले भन्नुभयो– ‘नेपालमा कृषि, जलस्रोत र पर्यटन जस्तै अर्थतन्त्रको महत्त्वपूर्ण आधारका रूपमा सूचना प्रविधि क्षेत्र स्थापित भएको छ ।’
‘अब हामी नेपालबाट श्रमिक होइन, सेवा निर्यात गर्न चाहन्छौँ । त्यसका लागि सरकारले सूचना प्रविधिलाई राष्ट्रिय प्राथमिकतामा राखेर काम अघि बढाएको छ‘ उहाँले भन्नुभयो– ‘सरकारले नयाँ कार्यक्रमको थालनी र पुराना कार्यक्रम परिमार्जन गर्दै अघि बढ्ने छ ।’