काठमाडौँ । राष्ट्रियसभाको २०८० साउन ११ गते बिहीबारको दोस्रो बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८० पारित गरेको छ ।
मिटरब्याज पीडितको समस्यालाई सम्बोधन गरी पीडकलाई कारवाही गर्ने प्रयोजनका लागि सो विधेयक ल्याइएको थियो ।
अनुचित लेनदेन (मिटरब्याज) र घरसारमा हुने लेनदनेसम्बन्धी सो उक्त विधेयक प्रतिनिधिसभाबाट पारित भई संशोधन र सन्देशसहित प्राप्त भएकामा बिहीबार राष्ट्रियसभाले संशोधन स्वीकार गरी पुन:पारित गरेको हो ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सो विधेयकमाथि पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा सो विधेयकमाथि छलफलमा भाग लिन कुनै पनि सदस्यले नाम नटिपाएपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो । अब सो विधेयक प्रमाणीकरणको प्रक्रियामा जाने छ ।
सभाको आजको पहिलो बैठकमा सचिव डा सुरेन्द्र अर्यालले सो विधेयक टेबुल गर्नुभएको थियो । विधेयक राष्ट्रियसभामै उत्पत्ति र पारित भएको थियो भने प्रतिनिधिसभाले गत असार ३१ गते संशोधनसहित पारित गरेको थियो ।
सभाको अर्काे बैठक यही साउन १८ गते बिहीबार अपराह्न १ बजेर १ मिनेटमा बस्ने छ ।