काठमाडौं । डा. युवराज खतिवडा पुनः अर्थमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रियसभा सदस्यका रुपमा दुई वर्षे कार्यकाल सकिएपछि मंगलबार पदबाट राजीनामा दिएका खतिवडालाई आज पुनः अर्थमन्त्री नियुक्त गरिएको हो ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिको कार्यालयले उहाँलाई अर्थसहित सञ्चार तथा सूचनामन्त्रीको पनि जिम्मेवारी दिएको छ । उहाँको सपथ ४ बजेका लागि तोकिएको छ ।
यसअघि खतिवडा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभा मनोनीत सदस्य बन्नुभएको थियो । तर, राष्ट्रियसभाको पहिलो कार्यकाल भएकाले गोलाप्रथाबाट कार्यअवधि तान्दा खतिवडालाई मात्र दुई वर्षको चिठ्ठा परेको थियो ।
अब, राजनीतिक भागबन्डा मिलेको खण्डमा मन्त्रिपरिषद्ले खतिवडालाई दोस्रोपटक राष्ट्रिय सभामा सिफारिस गर्न सक्नेछ । यद्यपी नेकपा सचिवालय बैठकले खतिवडाको ठाउँमा वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णय गरेको थियो । तर, प्रधानमन्त्री केपी ओलीले गौतमलाई मनोनित गर्न रुची देखाउनुभएको छैन ।
संसद सदस्य नभएपनि ६ महिनाका लागि मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था अनुरुप खतिवडालाई पुनः अर्थ मन्त्री नियुक्त गरिएको हो ।