काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा पक्राउ पर्नेको संख्या २२ पुगेको छ । सोमबार थप दुई जना पक्राउ परेसँगै यो प्रकरणमा २२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार ललितपुरबाट दुई जना नक्कली मोहीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा कुपण्डोलका सञ्जय महर्जन र सकुलानन्द महर्जन रहेका छन् ।
यो सँगै ललिता निवासको सरकारी जग्गा कीर्ते गरेर व्यक्तिको नाममा बनाउने २२ जना पक्राउ परेका हुन्। यी मध्ये सचिव कृष्णबहादुर राउत मात्रै हिरासत बाहिर छन्। २० जनालाई थुनामा राखेर सीआईबीले अनुसन्धान गरिरहेको छ ।
भाटभटेनी सञ्चालक मिनबहादुर गुरुङसहित मालपोतका पूर्व कर्मचारी, समर्जङ कम्पनीका पूर्व कर्मचारी र विचौलियाहरु छन्।
धर्मप्रसाद गौतम, सुधिरकुमार शाह, गोपाल कार्की, शिवजी भट्टराई, घमन कुमार कार्की, बाबुराजा महर्जन, रमेशकुमार पोखरेल, देवनारायण महर्जन, लोकहरि घिमिरे, धुर्वप्रसाद अर्याल, नारायण राज मिश्र, योगराज पौडेल, रुद्रकुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, विनोदप्रसाद पौडेल, केशव तुलाधर र सिपिका खेतान पनि हिरासतमा छन्।
सीआईबीले उनीहरुविरुद्ध कीर्ते र संगठित अपराधको कसुरमा हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। सीआईबीले असार १२ गतेदेखि पक्राउ गर्न र अनुसन्धान गर्न थालेको हो।