काठमाडौँ । नेपाल र चीनबिच कृषिसँग सम्बन्धित प्रविधि विकास तथा सिपको आदानप्रदान गर्ने समझदारी भएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र चीनको सिचुवान एकेडमी अफ एग्रिकल्चर साइन्स (सास) का बिचमा बिहीबार सहमति भएको हो ।
नार्कका कार्यकारी निर्देशक डा ध्रुवराज भट्टराई र सासका उपाध्यक्ष डा लेओ योङहङबिच प्रविधि विकास र सिप आदानप्रदान गर्न समझदारी भएको हो । दुई देशका कृषक एवव् कृषिको विकासका लागि विकास गरिएका प्रविधि प्रदर्शन, हस्तानान्तरण तथा प्रवद्र्धन गरिने छ ।
यही सम्बन्धमा खुमलटारस्थित नार्कको केन्द्रीय कार्यायलमा नार्क र सासको उच्चस्तरीय प्रतिनिधिमण्डलका बिचमा भेटघाट एवव् छलफल भएको नार्कका कार्यकारी निर्देशक डा भट्टराईले जानकारी दिनुुभयो ।
‘एकअर्काको अनुसन्धानका बारेमा बुझ्दै कृषि क्षेत्रको विकासबारे छलफल गरेर गुणस्तरीय उत्पादन बढाउँदै जाने विषयमा समझदारी भएको छ’ उहाँले भन्नुभयो ।
सोही क्रममा सासका उपाध्यक्ष डा लेओले नेपाली अनुसन्धानकर्ता र प्राविधिकलाई उच्चस्तरीय कृषि प्रविधिसम्बन्धी तालिम प्रदान गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाली अनुसन्धानकर्तालाई चाँडै नै चीन लगेर मकै र सखरखण्डको उत्पादनका साथै प्रविधिको बारेमा तालिम दिइने उहाँले बताउनुभयो । सासका उपाध्यक्ष डा लेओको नेतृत्वमा टोली तीनदिने नेपाल भ्रमणमा आएको छ ।