लिबाङ। रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मनेबित्तिकै बैङ्क खातामा रु पाँच हजार जम्मा गरिदिने भएको छ तर बैङ्कमा खाता खोली जम्मा गरिने उक्त रकम झिक्न भने २० वर्षसम्म कुर्नुपर्ने छ ।
आर्थिक वर्ष २०८०/८१ को गाउँसभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेसँगै सो प्रावधान लागु भएको हो ।
यही साउन १ गतेदेखि लागु हुने गरी सो कार्यक्रम ल्याइएको गाउँपालिकाका उपाध्यक्ष लेखमणि डाँगीले जानकारी दिनुभयो । यही साउन १ गतेपछि गाउँपालिकाभित्र जन्मने हरेक छोरीलाई उम्दा बनाउन उक्त कार्यक्रम ल्याइएको उहाँको भनाइ छ ।
‘छोरी जन्मिदा परिवारमा खुसियाली ल्याउन तथा छोरीमा लगानी बढाउन यस्तो कार्यक्रम अघि सारेका हौँ’ उपाध्यक्ष डाँगीले भन्नुभयो ।
छोरीलाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक हिसाबले उम्दा बनाउका लागि उक्त कार्यक्रम अघि बढाएको उहाँको भनाइ छ ।
कार्यक्रमबाट बालविवाह रोक्नसमेत मदत पुग्ने डाँगीको विश्वास छ । उक्त कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा रु १० लाख विनियोजन गरेको छ ।
गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारसँगको साझेदारीमा उक्त कार्यक्रम गर्ने प्रस्ताव गरेको छ । (रासस)