काठमाडौं । सरकारले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग अब साढे चार सय मिटर मात्रै खन्न बाँकी रहेको बताएको छ ।
मंगलबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माणाधीन सुरुङमार्ग अनुगमन गरी एक वर्ष भित्र निर्माण सम्पन्न हुने जानकारी दिनुभयो ।
मंगलवार उच्च अधिकारीसहितको टोलीले सहित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको अनुगमन गरेको हो । त्यसक्रममा उहाँले सुरुङमार्गको ३५ मिटर मात्रै ब्रेक थ्रो गर्न बाँकी रहेको भन्दै करिव एक वर्षभित्र यातायात सञ्चालन गर्नेगरी निर्माण कार्य अघि बढाएको बताउनु भयो ।
मन्त्री ज्वालाले सुरुङमार्गमा भएको प्रगति सन्तोषजनक रहेको भन्दै समयमा नै निर्माण सम्पन्न हुने विश्वास रहेको बताउनु भयो । उहाँले देशकै संघीय राजधानी काठमाडौं जोड्नका निम्ति यो धेरै महत्वपूर्ण आयोजना भएको भन्दै सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउनु भयो ।
उहाँले नेपालमा पहिलो नमूना प्रयोगको रुपमा यातायात सुरुङ मार्गको रुपमा आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउनु भयो । उहाँले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा सम्पन्न भएसँगै काठमाडौं आवात जावातको लागि सहजता हुने बताउनु भयो । उहाँले यो आयोजनाले नेपालको समृद्धिमा विकास आर्थिक रुपमा ठूलो मद्दत पुर्याउने बताउनु भयो ।
उहाँले नेपाल जस्तो पहाडी देशको निम्ति जापानको जाइकाको साढे १६ अर्ब सहयोग र नेपाल सरकारको ७ अर्ब जति लगानी गरेको बताउनु भयो । उहाँले अहिले देख्दा खर्च बढी भएको देखिए पनि निकट भविष्यमा आयोजनाबाट धेरै ठूलो लाभ प्राप्त गर्न सकिने बताउनु भयो ।
उहाँले टनेलको निर्माण कार्य सम्पन्न गरी सुरुङ मार्गमा यातायात सञ्चालन गर्ने विषय धेरै महत्वपूर्ण रहेको भन्दै सरकारले निर्धारित समयमा नै निर्माण सम्पन्न गर्ने बताउनु भयो । उहाँले स्थानीय जनता र जनप्रतिनिधिलाई नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण भएका अवरोध हटाउन सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो। उहाँले निर्माण कार्य र ढिला गर्ने र गुणस्तर कम हुने कामलाई सरकारले कुनै छुट नदिने उल्लेख गर्नुभयो ।
मन्त्री ज्वालाले निरीक्षणका क्रममा थपिएको समय सीमाभित्र काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिँदै निर्माण प्रक्रियामा कुनै व्यवहारिक जटिलता उत्पन्न भए सहजीकरण गर्न सरकार तयार रहेको बताउनु भयो । २।६८ किलोमिटर लम्बाई रहेको सुरुङ मार्गको नौ मिटर चौडाइको मुख्य टनेल र चार मिटर चौडाइको रेस्क्यु टनेल गरी दुई सुरुङ निर्माण भइरहेका छन् । सुरुङमार्गको निर्माण अवधि सरकारले १४ महिना थप गरेको छ ।