काठमाडौँ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले नेपाली सेना चाहिदैन भन्ने अभिव्यक्ति भारतको दलाली गर्नु भएको बताउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णीम वाग्ले र नेकपा (एमाले) की सांसद विमला पौड्याल राईका नेपाली सेना चाहिँदैन भन्ने पछिल्लो अभिव्यक्तिको आलोचना गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
सामाजिक सञ्जालमा २०८० असार ३१ गते स्टाटस राख्दै महासचिव भट्टले सेना कटौतिको प्रस्तावको अन्तिम परिणति नेपालको राष्ट्रिय सुरक्षा भारतलाई सुम्पिनु हुने दाबीसमेत गर्नुभयो ।
“नेपाली सेनाको सङ्ख्या कटौति गर्नुपर्दछ भन्ने सांसद स्वर्णीम वाग्ले र विमला पौडेल राईको सार्वजनिक अभिव्यक्ति निकै निन्दनीय तथा आपत्तिजनक छ” उहाँले भन्नुभयो ।
यस्तो प्रस्ताव भारतको चाहनाअनुसारको हुने उहाँको दाबी थियो ।
“भारत नेपाली सेना विघटन गरेर वा त्यसको सङ्ख्यामा कटौति गरेर नेपालको सुरक्षा मामिला आफनो हातमा लिन लगातार कोसिस गरिरहेको छ” उहाँले भन्नुभयो– “स्वर्णीम वाग्ले र विमला पौडेल राईले नेपाली सेना चाहिँदैन भनेर परोक्ष रूपमा भारतको दलाली गरेका छन् ।”