केरसिंह अदै, कपिलवस्तु ।
राष्ट्रिय जनमोर्चा कपिलवस्तुको पाँचौं जिल्ला सम्मेलन आगामी भदौ २२ र २३ गते सदरमुकाम तौलिहवामा हुने भएको छ । शनिबार बसेको जिल्ला समितिको बैठकले जिल्ला सम्मेलनको मिति निर्धारण गर्नुका साथै नगर सम्मेलन गर्ने ठेगान गरेको छ ।
बैठकले जिल्ला सम्मेलन तयारीका लागि विभिन्न समिति समेत गठन गरेको छ । जिल्ला अध्यक्ष दधिराम आचार्यको संयोजकत्वमा पाँच सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ । समितिमा रामप्रसाद बेल्बासे, दलबहादुर कुँवर, नरबहादुर घर्ती, र सशी सापकोटा रहनु भएको छ ।
यसैगरी आर्थिक प्रतिवेदन तयार गर्न कोषाध्यक्ष चेतनारायण खनालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । सदस्यमा रामप्रसाद बेल्बासे र केरसिंह पुन रहनु भएको छ ।यस्तै, छपाइसम्बन्धी जिम्मा केरसिंह अदैलाई दिइएको छ ।
बैठकले विभिन्न नगरहरुको सम्मेलनका मिति ठेगान गरेको छ । जसअनुसार, वाणगंगा नगरपालिकाको सम्मेलन, साउन ६ गते चप्पर गाउँमा, बुद्धभूमि नगरपालिकाको साउन ८ गते शान्तिपुरमा, शिवराज नगरपालिकाको साउन १३ गते चन्द्रौटामा विजयनगर गाउँपालिकाको साउन १२ गते ज्योति नगरमा, कपिलवस्तु नगरपालिकाको साउन ९ गते तिलौराकोटमा, कृष्णनगरमा भेला साउन ९ गते र महाराजगञ्जको भेला साउन १९ गते तोकिएको छ ।
राजमोले सम्मेलन तयारीका क्रममा वडासम्म संगठन निर्माण, सदस्यता अभियान, प्रशिक्षण चलाउने निर्णय गरेको छ ।