काठमाडौं । राष्ट्रिय जनमोर्चाले मिटरब्याज पीडितलाई न्याय दिनेगरी तत्काल विधेयक ल्याउन सरकारसँग माग गरेको छ ।
अध्यक्ष चित्रबहादुर केसीले शनिबार एक वक्तव्य प्रकाशित गरी मिटरब्याजसम्बन्धी विधेयक ल्याउन नदिन चलखेल र दबाब बढेको भन्दै दबाबलाई परास्त गरी तत्काल विधेयक ल्याउन माग गर्नुभएको छ ।
मिटरब्याजपीडित जनताको समस्या गम्भीर बन्न गएको र त्यो समस्या समाधानका लागि सरकारले उपयुक्त कानुनी व्यवस्थासहित कडा कदम उठाउनुपर्ने आवश्यकता रहेको राजमोको ठहर छ ।
यस्तै विज्ञप्तिमा बाढी पहिरोबाट भइरहेको जनधनको क्षतिलाई रोक्न आवश्यक कदम चाल्न र पीडितलाई राहत दिन पनि सरकारसँग माग गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ,
‘मिटरब्याजसम्बन्धी विधयेक रोक्न चलखेल र दबाब बढेको समाचार सार्वजनिक भएका छन् । मिटरब्याजीहरूले जनतालाई गम्भीर रूपमा शोषण र आर्थिक दोहोन गरेको कुरा स्पष्ट छ । मिटरब्याजीहरूको त्यस प्रकारको शोषणकार्यलाई सरकारले पूर्ण रूपमा रोक्नु पर्दछ र त्यसरी शोषण र दोहन गर्नेहरूलाई कडा कारबाहीको दायरामा ल्याउनुपर्नेमा हामीले जोड दिन चाहन्छौँ ।
देशमा मिटरब्याजपीडित जनताको समस्या गम्भीर बन्न गएको छ र त्यो समस्या समाधानका लागि सरकारले उपयुक्त कानुनी व्यवस्थासहित कडा कदम उठाउनुपर्ने आवश्यकता छ । त्यो अवस्थामा मिटरब्याजपीडितलाई राहत दिलाउन ल्याउन थालिएको मिटरब्याजसम्बन्धी विधेयक आउन नदिनका लागि भएका चलखेल र दबाबलाई परास्त गर्दै सरकारले उक्त विधेयक ल्याउनुपर्नेमा हामीले जोड दिन चाहन्छौँ ।
बाढी पहिरो र डुबानबाट नेपालमा वर्षेनी ठुलो जनधनको क्षति हुने गरेको छ । वर्षा याममा पटकपटक ती घटना दोहोरिरहनुमा सरकारको पूर्व तयारी र सजकताको अभाव भएको देखिन्छ । त्यसले गर्दा देशमा ठुलो जनधनको क्षति हुने गरेको छ । उक्त जनधनको क्षति हुनबाट बचाउन आवश्यक सबै कदम उठाउन र बाढीपीडित जनतालाई आवश्यक राहत उपलब्ध गराउनका लागि हामीले सरकारसित माग गर्दछौँ ।’
२०८० असार ३० गते
चित्रबहादुर केसी