काठमाडौं । वैदेशिक रोजगारीको लागि कुवेत जान लागेका १३२ श्रमिकहरूलाई अध्यागमन कार्यालयले रोकेकोप्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको छ।
शुक्रवार काठमाडौंमा पत्रकार सम्मलन गर्दै संघले कुवेत र जोर्डन जाने लागेका १३२ जना श्रमिकहरूलाई अध्यागमन कार्यालयले बिना कारण रोकेको भन्दै आपत्ति जनाएको हो ।
संघले अध्यागमनले बिना कारण वैदेशिक रोजगारीमा जान लागेका १३२ जनालाई रोक लगाउनु जायज नभएको भन्दै व्यवसायीहरुलाई उचित क्षतिपूर्ति दिएर श्रमिकहरुलाई वैदेशिक रोजगारीमा पठाउनु पर्ने माग संघले राखेको छ ।
वैदेशिक रोजगार विभागबाट संस्थागत रुपमा प्रचलित कानून बमोजिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि जान लागेका श्रमिकहरुलाई अध्यागमन विभागका कर्मचारीहरुले गलत सूचना दिने,अनावश्यक दुःख दिई रोजगारीबाट वञ्चित गराउने उद्देश्यबाट प्रेरित भएर हस्तक्षेप गर्नु गलत भएको संघको ठहर छ ।
पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष राजेन्द्र भण्डारीले बिना कारण कामदार फर्काउने काम भएको भन्दै विभागले गलत गरेको बताउनु भयो । उहाँले वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिई वैदेशिक रोजगार व्यवसायीले वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्वीकृति लिई रोजगारीमा जाने गरेको बताउनु भयो ।
त्यस्तै, संघका महासंचिव मेघनाथ भुर्तेलले अध्यागमनले बुधवार बेलुका कागजात शंकास्पद भनेर त्रिभुवन विमानस्थालबाट फर्काएका ९ जना पुरानै कागजातको आधारमा कुवेत गएको बताउनु भयो। उहाँले वैदेशिक रोजगारीका लागि कुवेत उड्न लागेका ११७ जनामध्ये ८ जना महिला र १ जना पुरुष शुक्रवार बिहान गन्तव्य मुलुक पुगेको बताउनु भयो।
अध्यागमन कार्यालयले २०८० असार २४ गते जोर्डन जान लागेका १५ जना, २७ गते सलाम एयरलाईन्सबाट कुवेत जान लागेका १०१ जना र कुवेत एयरलाईन्सबाट जान लागेका १६ जना कामदारलाई रोकेको थियो।