काठमाडौँ । बालबालिको सिकाइमा गुणस्तर तथा प्रभावकारिता बढाउन बहुभाषिक माध्यमको सिकाइसम्बन्धी नीति ल्याउनुपर्ने एक अध्ययनको निष्कर्ष छ ।
‘नेपालमा बालबालिकाको सिकाइ उपलब्धिमा भाषा र भाषा नीतिको प्रभावप्रतिको बुझाइ’ शीर्षकमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, भाषा आयोग, युनेस्को र ब्रिटिस काउन्सिलको सहकार्यमा युनिसेफ नेपालले गरेको अध्ययनमा हालसम्म बहुभाषिक माध्यमको सिकाइबारे कुनै एकरुप नीति नभएकाले कक्षाकोठा, कार्यस्थल र समाजमासमेत यसबारे स्पष्ट बुझाइ हुनुपर्ने सुझाव दिइएको हो ।
‘नेपालमा सबै प्रकारका विद्यालयमा बहुभाषिकताका आधारमा सिकाइ हुनुपर्छ । यो सिकाइमा अवरोध या समस्या नभई सकारात्मक सोच हुने छ’ अध्ययनको निचोडमा भनिएको छ– ‘सिकाइस्तरको मूल्याङ्कन पनि एकै भाषाका आधारमा नभई बहुभाषिकताका आधारमै हुनुपर्छ ।’
संविधानत: सबै मातृभाषा राष्ट्रभाषा भनिए पनि व्यवहारत: सबै भाषाको समान मान्यता नरहेको अवस्थामा अध्ययन प्रतिवेदनले सबै भाषाको सबलीकरणका लागि सरकारको प्रतिबद्धता समान रूपमा व्यक्त हुन सकेमा न्याय र समानता मिल्ने उल्लेख गरेको छ ।
डा प्रेमप्रसाद पौड्याल र डा ट्रयासी कोस्टीले नेतृत्व गर्नुभएको सो अध्ययनले बहुभाषाका माध्यममा पढाइनुलाई समस्या वा चुनौती नठान्न भनिएको छ । बालबालिकालाई उनीहरूको बोलिचालीको भाषामा पढाएमा कक्षा कोठामा सहजता हुनाका साथै धेरै अन्तक्र्रिया भई सिकाइमा अभ्यस्त हुने र सिकाइको आधारस्तम्भ बलियो हुने अध्ययनको सार रहेको छ ।
अध्ययन प्रतिवेदन सार्वजनिक गर्न आज आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले प्राप्त सुझावलाई थप अध्ययन गरी शिक्षामा विद्यमा गुणस्तर सुधार्ने लक्ष्यका साथ नीतिगत परिवर्तन गरिने बताउनुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले बहुभाषिक सिकाइ नीतिलाई चरणबद्ध कार्यान्वयनमा लान सकिने जानकारी दिनुभयो ।
बहुभाषी नेपालमा एक सय २४ मातृभाषा छन् भने करिब ४५ प्रतिशतले खस नेपाली भाषी छन् । (रासस)