काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ ।
आज असार २७ गते बुधबार को कारोबारमा नेप्से परिसूचक २५ दशमलव ३१ अङ्कले बढेर दुई हजार ९७ दशमलव ५५ अङ्कमा कायम भएको हो ।
बुधबार विभिन्न दुई सय ८९ कम्पनीका ८५ लाख चार हजार तीन सय ७८ कित्ता सेयर रु तीन अर्ब १८ करोड ७६ लाख ९५ हजार सात सय ७४ मा खरिदबिक्री भएका छन् । वित्त र होटल तथा पर्यटन समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।
आजको कारोबारपछि वित्त समूह ३९ दशमलव २० र होटल तथा पर्यटन समूह ५१ दशमलव ०८ अङ्कले घटेको छ । बढ्नेमा भने सबैभन्दा धेरै निर्जीवन बिमा समूहको उपसूचक एक सय छ दशमलव ८० र जलविद्युत् समूहको उपसूचक एक सय दुई दसमलव ७२ अङ्कले बढेको छ ।
बैङ्किङ ८ दशमलव ७७, विकास बैङ्क ३० दशमलव ८७, लगानी शून्य दशमलव ४० र जीवनबिमा ३८ दशमलव ९६ अङ्कले बढेको छ ।
त्यस्तै, उत्पादन तथा प्रशोधन समूह ५९ दशमलव ४८, लघुवित्त समूह ७३ दशमलव ७५, म्युचुअल फन्ड शून्य दशमलव २६, व्यापार नौ दशमलव ०७ र अन्य समूह १६ दशमलव ०५ अङ्कले बढेको छ ।
शिवश्री हाइड्रोपावर लिमिटेड, सिवाइसी लघुवित्त वित्तीय संस्था लिमिटेड, रिभर फल्स पावर लिमिटेड र लक्ष्मी इक्विटी फन्डको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू ३३ करोड ९३ लाख ५१ हजार र एक सय एक बराबरको पाँच लाख १८ हजार छ सय चार कित्ता सेयर किनबेच भएको छ ।