दैलेखबजार । यहाँ सहुलियतमा बिक्री गदै आएको खाद्यान्न अभाव भएको छ ।
नेपालगञ्ज र राजापुरबाट आउनुपर्ने थप कोटाको चामलसमेत नआएका कारण दैलेखमा खाद्यान्न अभाव भएको हो ।
साथै थप कोटाका लागि परिपत्र हुँदा पनि ढुवानी अनुदान नआएपछि समस्या देखिएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा हाल तीन सय ३५ क्विन्टल मात्रै खाद्यान्न स्टक छ । यो खाद्यान्न आपतकालीन अवस्थाका लागि र कारागारामा रहनेका लागि मात्रै भएको दैलेख शाखाका निमित्त शाखा प्रमुख रवीनकुमार रेग्मीले बताउनुभयो ।
यहाँका नौमूले, ठाँटीकाँध, चामुन्डा र बेस्तडा बिक्री केन्द्रमा समेत खाद्यान्न पुग्न सकेको छैन । दैलेखबाट बिक्री केन्द्रमा पुर्याउँदा लाग्ने ढुवानी पैसा कम भएको भन्दै बिक्री केन्द्रमा चामल पुर्याउने ठेकेदारहरूले आनाकानी गर्दै आएका छन् ।
दैलेखमा असारमा एक हजार पाँच सयदेखि दुई हजारसम्म क्विन्टल खाद्यान्न आवश्यक पर्छ । असारमा केही परिमाण बिक्री गरी बाँकी चामल आगामी दसैँसम्म राख्नुपर्ने भएकाले चामलको परिमाण कम भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार लिमिटेड दैलेखमार्फत बिक्री गरिने सहुलियत चामल अन्यत्रको तुलनामा प्रतिक्वीन्टल रु सात सयसम्म कम पर्छ ।