काठमाडौँ । लक्ष्मी बैङ्क लिमिटेड र सनराइज बैङ्क लिमिटेड एकापसमा गाभिएर (मर्जर) यही असार २९ शुक्रबारदेखि लक्ष्मी सनराइज बैङ्क लिमिटेडको नाममा एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।
मर्जरका क्रममा डाटा माइक्रेसनका लागि आज र भोलि दुवै बैङ्कका प्रणाली बन्द गरिएका छन् । दुई दिन बैङ्कका अरू सबै प्रणाली बन्द भए पनि क्रेडिट कार्डसुविधा भने चालु रहने बैङ्कले जनाएका छन् ।
यी दुई संस्था मर्जरका लागि गत जेठ ८ गते अन्तिम सम्झौता भएको थियो । दुवै संस्थाको असार ३ गतेको साधारणसभाबाट पारित मर्जरसम्बन्धी विशेष प्रस्तावबमोजिम नेपाल राष्ट्र बैङ्कले यही असार २२ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो । मर्जरपछि कायम हुने बैङ्कको प्रधान कार्यालय काठमाडौँ महानगरपालिका–१ हात्तीसारमा रहने जनाइएको छ ।
राष्ट्र बैङ्कले २०२२ अप्रिलमा सार्वजनिक गरेको ‘नेपालमा बैङ्क तथा वित्तीय संस्थाको उपयुक्त सङ्ख्या’ (अप्टिमल नम्बर अफ बैङ्क्स एन्ड फाइनान्सियल इन्स्टिच्युसन इन नेपाल) अध्ययन प्रतिवेदनले नेपालका लागि ११ देखि १५ ओटासम्म वाणिज्य बैङ्क उपयुक्त हुने देखाएको थियो । सोही प्रतिवेदनको सुझावअनुसार राष्ट्र बैङ्कले मर्जरको नीति लिएको थियो ।