काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग ३० करोड चन्दा मागेको आरोपमा एक जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले खोटाङको राहबेशी गाउँपालिका १ घर भई हाल काठमाडौंको चुनदेवी बस्ने रमेश गुरुङलाई मंगलबार पक्राउ गरेको हो।
प्रसाईंले ३० करोड चन्दा मागेका गुरुङलाई ५ करोड दिने भन्दै बोलाएका थिए। तर उनले त्यसअघि नै प्रहरीलाई जानकारी दिइसकेका थिए।
त्यतिनै बेला सीआईबीले उनलाई पक्राउ गरेको सीआईबीका प्रवक्ता संजय थापाले जानकारी दिए।
सीआईबीका अनुसार असार १३ गते प्रसाईलाई प्रवेश लामाको नामबाट फोन गरी ‘हत्या गर्नको लागि योजना बनि सकेको, यदी सुरक्षित हुन चाहनु हुन्छ भने रकम दिनु पर्ने हुन्छ, डिमान्डको रकम उपलब्ध गर्नु भयो भने तपाईको जीवन बच्न सक्छ, तपाईंको नाम २ नं।मा रहेको छ भन्दै अपहरण गरी हत्या गरी दिन्छु’ भनी फोन तथा पटक पटक एसएमएस समेत गरी ३० करोड रुपैयाँ मागेका थिए।
पक्राउ परेका गुरुङलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ।