काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘रअ’का प्रमुखलाई गोप्य रुपमा भेटेर निमन्त्रण दिएको दाबी गरेका छन्।
शुक्रबार स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आफूले सार्वजनिक रुपमा भेटेपनि प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा निवासमै पुगेर भेट गरेको बताएका हुन्। साथै, उनले उक्त भेटबारे स्वीकार समेत गर्न नसकेको बताए।
‘भारतबाट ‘रअ’का प्रमुख नेपाल आए, म सँग भेट्छु भने। नेपाल आए। भेट्छु भन्दा मैले भेटेँ। त्यो कुरा कुनै लुकाएको छैन, मैले सार्वजनिक ढंगले भेटेँ। सार्वजनिक ढंगले फिर्ता गरेँ,’ ओलीले सम्बोधनका क्रममा भने, ‘यसपल्ट प्रचण्डजी दिल्ली जानुभयो उनको निवासमा पुगेर गोप्य निमन्त्रण दिएर आउनुभयो। मैले त्यस्तो गोप्य निमन्त्रणा गरेको होइन, उनको निवासमा गएर भेटेको होइन। मैले भेट्न आएको ठाउँमा भेटेको हो।’
फरक प्रशंगमा ओलीले प्रितम सिंह दिल्ली नगएको स्पष्ट पार्दै प्रधानमन्त्रीले झुटो बोलेको बताए। उनले प्रधानमन्त्रीले जबर्जस्ती प्रितम सिंहलाई विवादमा मुछेको आरोप पनि लगाए।
यही सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह नामका व्यक्ति पटक पटक दिल्ली धाएको बताएपछि उत्पन्न विवादले प्रधानमन्त्री प्रचण्ड विवादमा तानिएका छन्।
राजीनामाको मागबाट पछि हटेन एमाले
प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेले अवरोध गरेको प्रतिनिधि सभाको बैठक शुक्रबार पनि बस्न सकेन।
शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा आउनुपर्ने अडान नछाडेपछि बैठक बस्दै नबसी स्थगित भएको हो।
कार्यव्यवस्था बैठकमा प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिबारे संसद्मा जवाफ दिने र संसद् खोल्ने बताए पनि एमालेले नमानेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए।
बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, माओवादी प्रमुख सचेतक हितराज पाण्डे र नागरिक उन्मुक्तिका प्रमुख सचेतक अरुणकुमार चौधरीले प्रधानमन्त्रीले जवाफ दिने भनिसकेपछि संसद्को अवरोध हटाउनुपर्ने कुरा राखेका थिए।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख देवराज घिमिरेले अवरुद्ध संसद् खुलाउन सत्ता पक्ष र प्रतिपक्षबीचको सहमति खोजेका थिए।