काठमाडौँ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा काठमाडौँ महानगरपलिकामा सबैभन्दा बढी आगलागीका घटना भएको तथ्याङ्कमा देखिएको छ ।
यहाँ यस अवधिमा तीन सय ९९ बिपत्का घटना घटेका छन् । यसमा सबैभन्दा धेरै आगलागीका घटना रहेको कामपाले जनाएको छ ।
ती घटनामध्ये एक सय ६२ आगलागीका घटना भएको कामपा बिपत् व्यवस्थापन विभागका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कामपा क्षेत्रभित्र ग्यास चुहाव भएर हुने आगलागी र बत्तीको पोलमा हुने आगलागीका घटना बढी छ ।
त्यसैगरी विद्युत् चुहावट भएर १०८, जल उत्पन्न प्रकोपको कारण २३, अन्य विविध बिपत्का १०६ घटना घटेको बताइएको छ ।
विगतको वर्षहरूमा भन्दा यस वर्ष बिपत्को घटना बढ्ने अनुमान कामपाले गरेको छ । गत आर्थिक वर्षमा विभिन्न प्रकारका गरी ३५५ बिपत्का मात्र घटना घटेका थिए । यसरी बत्तीको पोलमा हुने आगलागीका घटना विभिन्न इन्टरनेट सेवा प्रदायक संस्थाले अस्तव्यस्त रूपमा राखेको तारको कारणले हुने गरेको कामपाको ठहर छ ।
त्यसैगरी, जीर्ण खाना पकाउने ग्याँस सिडिन्डरको प्रयोग, ग्याँस पाइप र लेगुलेटरको नियमित परीक्षण नगर्दा र वार्षिक रूपमा नफेर्दा आगोजन्य बिपत्का घटना बढिरहेको उपरीक्षक जोशीको भनाइ छ ।