काठमाडौँ । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललितानिवासको जग्गा तारबार गर्ने भएको छ ।
२०८० असार १७ गते आइतबार कामनपाको निर्णया कार्यान्वयन गर्न महानगर प्रहरी टोली बालुवाटार पुगेको हो ।
बालुवाटारस्थित एनआरएनए कार्यालयनजिक महानगर प्रहरीको टोली पुगेर तारबारबारे काम सुरु गरेको छ । अहिले ललितानिवासको जग्गा एकिन गर्ने र पछि तारबार गरिने महानगर प्रहरीले जनाएको छ ।
ललितानिवासको करिब १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा १७५ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ ।
त्यस्तै यो जग्गा व्यक्तिको नाममा नामसारी गर्ने क्रममा सरकारी कागजात किर्ते गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले पनि अनुसन्धान गरिरहेको छ ।
महानगर प्रहरीले ललितानिवास क्षेत्रको सार्वजनिक जग्गामा बनेको अस्थायी टहरा हटाउन निर्देशन दिएको छ ।
महानगर प्रहरी निरीक्षक ईश्वर वाग्लेका अनुसार ललितानिवासले चर्चेको सार्वजनिक जग्गामा बनेको सबै अस्थायी संरचना हटाएर कम्पाउन्डिङ गर्ने तयारी गरेको हो ।
‘सार्वजनिक जग्गामा बनेको अस्थायी संरचना जति खाली गरेर अहिले कम्पाउन्डिङ गर्ने र ठुला तथा पक्की संरचनामा अर्को निर्णय गरेर कारबाही गर्ने आदेश भएको छ’ बालुवाटारबाट उनले भने ।
ललितानिवासको जग्गामा हाल करिब २५ ओटा साना टहरा बनाएर गोदामघर, पसल आदि सञ्चालनमा रहेका छन् ।
‘उहाँहरूलाई हट्न भनेका छौँ, त्यसपछि हामी तारबार लगाउँछौँ’ वाग्लेले भने ।