गौर । राष्ट्रिय जनमोर्चा रौतहटले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
राजमो रौटहटका नेता हरिकिशोर महतोले केही दिनअघि खुट्टामा चोटपटक लागेका एक पीडितलाई सहयोग हस्तान्तरण गर्नुभएको हो ।
रौटहट जिल्ला राजपुर नगरपालिका वडा नं. २ फतुहा महेशपुर निवासी रूप महतोलाई खुट्टामा गम्भीर चोट लागेपछि नेता महतोको नेतृत्वमा औषधोपचार अभियान सुरु गरिएको थियो । सोही क्रममा मलेसियामा कार्यरत सुनिल महतोले पनि चन्दा सङ्कलन गरेर २२,६०० रुपैयाँ उपचारार्थ पठाएका थिए ।
उक्त रकम राजमो नेता महतोले पीडित रूप महतोलाई हस्तान्तरण गर्नुभएको हो ।
राजमो नेता महतोका अनुसार रूप महतोको उपचारका लागि स्थानीय स्तरमा सहयोग सङ्कलन गरिएको थियो ।
‘राष्ट्रिय जनमोर्चाले रूप महतोको उपचारका लागि सक्दो प्रयास गरिरहेको छ’ हरिकिशोरले भन्नुभयो– ‘पूर्ण रूपमा ठिक नहुँदासम्म हामीले उहाँको उपचारमा सहयोग गरिरहने छौँ ।’
उहाँले थप्नुभयो– ‘राष्ट्रिय जनमोर्चाले स्थानीय स्तरमा विभिन्न प्रकारका सहयोग गर्दै आएको छ ।’