काठमाडौँ । राष्ट्रिय जनमोर्चाले पूर्वी नेपालमा बाढीपहिरोका कारण भएको जनधनको क्षतिको सन्दर्भमा अविलम्ब राहत, आपूर्ति र उद्धार अभियान सञ्चालन आग्रह गरेको छ ।
अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८० असार ६ गते बुधबार जारी प्रेसवक्तव्यमार्फत् राजमोले यस्तो आग्रह गरेको हो ।
राजमोले बाढीपहिरोमा परेर ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।
मनसुन सुरु भएलगत्तै जोखिमको सम्भावना रहेकाले अहिलेदेखि नै सतर्कता अपनाउनसमेत राजमोले सरकारसित आग्रह गरेको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“पूर्वी नेपालमा परेको अविरल वर्षाका कारण सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, धनकुटा जिल्लाका विभिन्न क्षेत्रमा बाढीपहिरोले ठुलो धनजनको क्षति भएको छ । कैयौँ व्यक्तिहरू बेपत्ता भएका छन् । कैयौँको मृत्यु भएको छ । कैयौँ घर माटोमा पुरिएर भत्किएका छन् । सडक भत्किएर बाटो अवरुद्ध हुँदा जनजीवन अस्तव्यस्त भएको छ ।
हामी मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । त्यस क्षेत्रमा अविलम्ब राहत, आपूर्ति तथा उद्धार अभियान सञ्चालन गर्न सरकारसँग माग गर्दछौं ।
बाढीपहिरोका कारण ताप्लेजुङको दोभान बजारसमेत जोखिममा परेको छ । मनसुन सुरु भएपछि त्यसमा थप जोखिम पैदा हुने देखिएकाले सम्भावित क्षति हुन नदिन अहिलेदेखि नै सतर्कता अपनाउनसमेत सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ ।”