काठमाडौँ । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मालाई नौ वर्ष कैदसजाय तोकिएको छ ।
विशेष अदालतले कर फछ्र्यौट आयोगको भ्रष्टाचार मुद्दामा हालसम्मकै बढी बिगो र जरिवाना तोकेको हो ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले २०८० असार ५ गते मङ्गलबार कर फछ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महतलाई नौ वर्ष एक महिना कैद तोकेको छ ।
आगोगका सदस्य उमेश ढकाललाई पनि नौ वर्ष कैद सजाय तोकिएको छ ।
उनीहरूलाई छ अर्ब १५ करोड ७० लाख ४६ हजार ४७ रुपैयाँ बिगो कायम गरेको छ । यो मुद्दाका दोषीले दुई अर्ब पाँच करोड ४६ लाख ९ हजार ९४९ रुपैयाँका दरले बिगो तिर्नुपर्ने छ ।
विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार उनीहरूले जनही चार अर्ब १० करोड ४६ लाख ९७ हजार नौ रुपैयाँ जरिवाना तिर्नुपर्ने छ । बिगो र जरिवाना गरेर हरेकले छ अर्ब १६ करोड ४० लाख ९६ हजार ८४७ रुपैयाँ तिर्नुपर्ने छ ।
विशेष अदालतले उनीहरूलाई यसअघि नै दोषि ठहर गरे पनि सजाय निर्धारण गर्न बाँकी थियो ।