काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न ६ राजनीतिक दललले समाजवादी मोर्चा बनाउने तयारी गरेका छन् ।
मोर्चाको १५ बुँदे नीतिगत प्रतिबद्धतामा दलहरु सहमत भएपछि यसको घोषणा गर्न लागिएको हो। सो मोर्चाको घोषणा यसै साता हुने बताइएको छ ।
माओवादी केन्द्र र एकीकृत समाजवादी सहित, उपेन्द्र यदव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मोर्चा बनाउन सहमत भइसकेका छन् । यस्तै, वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियान नेपाललाई समेत मोर्चामा समेट्ने प्रयास भइरहेको छ।
माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले दुईतीन दिनभित्र मोर्चा घोषणा हुने जानकारी दिए। स्थानीय तहसम्म मोर्चाको संयन्त्र बनाइने महराले बताए ।
संसदमा रहेकामध्ये उपेन्द्र यादव नेतृत्वको जसपाका १२ र माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीका १० सांसद छन्। सबै दल समेटिँदा मोर्चामा ५४ सांसद हुनेछन् र यो संसदको तेस्रो ठूलो शक्ति हुनेछ।
मोर्चाको नेतृत्वका लागि आलोपालो अध्यक्षको व्यवस्था प्रस्ताव गरिएको छ भने तोकिएको व्यक्ति र तोकिएको संख्या रहने उल्लेख गरिएको छ।