काठमाडौँ । विश्वव्यापी परिप्रेक्ष्यमा नेपालका सञ्चारमाध्याम र पत्रकारिता क्षेत्रको अवस्थितिबारे विस्तृत अध्ययन समेटिएको पुस्तक ‘ग्लोबल प्रस्पेक्टिभ अन जर्नालिजम इन नेपाल’ को नेपाली संस्करण प्रकाशित भएको छ ।
२०८० असार २ गते शनिबार काठमाडौँस्थित कान्तिपुर सिटी कलेजमा आयोजित एक औपचारिक कार्यक्रमका बिच पुस्तक सार्वजनिक भएको हो ।
नेपालको पत्रकारिता र सञ्चारमाध्यमका समसामयिक अभ्यासमा केन्द्रित अनुभवजन्य अध्ययन, आलोचनात्मक समीक्षा, सैद्धान्तिक र दार्शनिक विश्लेषणसहितका विषयवस्तु पुस्तकमा समेटिएका छन् ।
पुस्तक सार्वजनिक गर्नुहुँदै प्राध्यापक पी खरेलले नेपालको पत्रकारिताको सैद्धान्तिक र व्यवहारिक अनुसन्धानका लागि यो पुस्तक पथप्रदर्शक हुने बताउनुभयो ।
सोही कार्यक्रममा प्राध्यापक रामकृष्ण रेग्मीले पत्रकारिता क्षेत्रका तीन पुस्ताले योगदान गरेको यो पुस्तकका थप संस्करण पनि ल्याउन आश्यक रहेको बताउनुभयो ।
प्राध्यापक कुन्दन अर्यालले पछिल्लो समय जनमानसमा असम्पादित सूचनाहरू बढी जाने गरेकाले त्यसलाई रोक्नु चुनौतीपूर्ण रहेको बताउनुभयो ।
पत्रकारिता र सञ्चार क्षेत्रका २१ जना लेखकका शोधपूर्ण लेख समेटिएको यो पुस्तक भानुभक्त आचार्य र श्याम शर्माले सम्पादन गर्नुभएको हो ।
सम्पादक भानुभक्त आचार्यले नेपाललाई केसस्टडी बनाएर विश्व परिवेशमा आधारित भई पुस्तकका विषयवस्तु राखिएको बताउनुभयो ।
पुस्तकमा भानुभक्त आचार्य, श्याम शर्मा, श्रीमन शर्मा, समीक्षा कोइराला, लक्ष्मण हुमागाईं, तुलसी आचार्य, भगिरथ योगी, जगन कार्की, रामकृष्ण रेग्मी, सुजिना शाक्य, पीयूष मिश्र, कुन्दन अर्याल, कवि अधिकारी, लेखनाथ पाण्डे, उषाकिरण रेग्मी, सन्देशदास श्रेष्ठ, हर्षमान महर्जन, विमला थपलिया, प्रवेश सुवेदी, रामहरि तिमिल्सिना र पूर्णबहादुर नेपालीका शोधपूर्ण लेख समेटिएका छन् ।
चार भागमा रहेको पुस्तकमा फरक फरक विषयका १८ ओटा लेख समावेश छन् ।