काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको भूमिलाई चीनको अखण्डतामा आँच आउने कुनै गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
चीनको स्वशासित क्षेत्र तिब्बतमा आयोजित पाँचौँ चीनतिब्बत पर्यटन तथा संस्कृति एक्स्पोलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल सधैँ एक चीन नीतिको पक्षमा स्पष्ट रूपमा अडिग रहेको बताउनुभएको हो ।
विश्वशक्तिको रूपमा उदाएको चीनले भौगोलिक र सामरिक हिसाबले सानो छिमेकी मुलुक नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको सम्मान गर्दै आएको उल्लेख गर्दै उहाँले भन्नुभयो– “नेपाल पनि सधैँ एक चीन नीतिको पक्षमा स्पष्ट रूपमा अडिग छ र आफ्नो भूमिलाई चीनको अखण्डतामा आँच आउने गतिविधिका लागि प्रयोग हुन नदिन प्रतिबद्ध छ ।’
नेपाल–चीनले एक अर्काको स्वाभिमानलाई सम्मान गर्दै आएको उल्लेख गर्दै उहाँले भन्नुभयो– “शान्तिपूर्ण सहअस्तित्वका पञ्चशील सिद्धान्तका आदर्शमा दुवै देशको अटल विश्वास छ । चीन र नेपाल एकार्काको स्वाभिमान, अस्तित्व र अखण्डताको सधैँ सम्मान गर्दै आएका छन् ।”