काठमाडौँ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) महालेखापरीक्षक सहयोग परियोजनाको शुभारम्भ भएको छ ।
सो संस्थाका काउन्सेलर क्लिन्टन ह्वाइटले २०८० असार १ गते शुक्रबार सो घोषणा गर्नुभएको हो ।
नेपाल सरकारको महालेखापरीक्षकको कार्यालय र अमेरिकी सरकारको जवाफदेहिता सम्बन्धी कार्यालय, सेन्टर फर अडिट एक्सलेन्सबिचको यो साझेदारी जवाफदेहिता अभिवृद्धि गर्न र पारदर्शिता प्रवद्र्धन गर्नप्रति लक्षित रहेको छ ।
यस सहकार्यले महालेखापरीक्षकको कार्यालयलाई लेखापरीक्षणको गुणस्तर सुधार गर्नका लागि तालिम तथा प्राविधिक सहायता प्रदान गर्ने लक्ष्य लिएको छ । साथै, प्रशिक्षण तथा परामर्शमार्फत परिणामको प्रभावकारी सञ्चार र दिगो क्षमता अभिवृद्धि गर्ने लक्ष्यसमेत लिइएको उल्लेख छ ।
युएसएआइडी महालेखापरीक्षक सहयोग परियोजनामार्फत युएसएआईडी/नेपाल र अमेरिकी सरकारको जवाफदेहितासम्बन्धी कार्यालय, सेन्टर फर अडिट एक्सलेन्सले नेपालको शासनमा पारदर्शिता, जवाफदेहिता र निष्ठाका उच्चतम मापदण्डलाई कायम राख्ने कार्यमा महालेखा परीक्षकको कार्यालयको क्षमतालाई बलियो बनाउने लक्ष्य राखेको छ ।