काठमाडौँ । हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
यसका कारण देशका मध्य तथा पूर्वी भेगमा बदलीसँगै हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले कोशी, बागमती र गण्डकी प्रदेशका कतिपय स्थानमा हल्का वर्षा भइरहेको छ ।
गत जेठ ३१ गते बुधबार नेपालको पूर्वी भेग भएर मनसुन प्रणाली भित्रिएको थियो । देशको कोशी प्रदेश, मधेस प्रदेशको पूर्वी भूभाग, बागमती प्रदेशको अधिकांश भूभाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा मनसुन आगमन भएको महाशाखाले मनसुन आगमनसम्बन्धी विशेष बुलेटिन निकालेर जानकारी दिएको थियो ।
मनसुन क्रमिक रूपमा फैलिरहेको र यो देशभर विस्तार हुन अझै एक साता लाग्ने महाशाखामा मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।
“मनसुन सुस्त गतिमा छ, पश्चिमतिर फैलिन केही दिन लाग्छ, मनसुन प्रणाली केही मात्रामा कमजोर रहे पनि वर्षा भने निरन्तर हुने छ” उहाँले भन्नुभयो ।
नेपालमा सरदर जुन १३ मा मनसुन भित्रन्छ । यसपालि एक दिन ढिला गरी मनसुन प्रवेश गरेको छ । पूर्वबाट झापा हुँदै नेपाल प्रवेश गर्ने मनसुन नेपालभर फैलिन केही दिन लाग्छ । यो वर्ष सरदरभन्दा कम वर्षा हुने जनाइएको छ ।
महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा थोरै स्थानमा र कोशी प्रदेशका तराईका भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।