भरतपुर । चितवनमा लम्पिस्किन रोग प्रभावित क्षेत्रका पाँच हजार गाईभैँसीलाई लम्पिस्किन विरुद्धको औषधि दिइएको छ ।
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत डा रामचन्द्र अधिकारीका अनुसार रोग न्यूनीकरणका लागि मल्हम, स्प्रे, ज्वरो नियन्त्रणका लागि औषधि, पोटास, फिनेल, भिरकोन जस्ता औषधि वितरण गरिएको हो ।
कार्यालयले जिल्लाका प्रभावित क्षेत्रमा जनचेतनाका कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ । यसका लागि पालिकास्तरमा सचेतना गोष्ठी, जिल्लाका सहकारीमार्फत फ्लेक्स, ब्रोसर र पम्प्लेट वितरणलगायतका काम गरिएको उहाँले जानकारी दिनुभयो । रोग के हो ? रोग नियन्त्रण कसरी गर्ने ? र यसका औषधिका बारेमा जानकारी दिइएको उहाँले बताउनुभयो ।
लम्पिस्किनका कारण गाईभैँसी मर्न थालेपछि उच्च सतर्कता अपनाउन कृषकलाई अनुरोध गरिएको छ । उहाँका अनुसार जिल्लाका पशुपालक किसानले आफैँ खोप खरिद गरेर गाईभैँसीलाई दिन थालेका छन् । किसानले एक डोज खोप बराबर रु दुई सय १० मा खरिद गरी आफैँ दिन सुरु गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो– “स्थानीय पालिकाको सहयोग तथा व्यावसायिक पशुपालक किसानले आफँै खरिद गरेर खोप दिन सुरु गरेका छन् ।”
जिल्लामा हालसम्म चार हजार एक सय गाईभँैसी यस रोगबाट प्रभावित भएका छन् । यसमध्ये ११२ ओटा मरिसकेको कार्यालयले जनाएको छ । यस रोगका कारण जिल्लाको राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिका बढी प्रभावित भएका छन् । जिल्लामा ९३ हजार एक सय ८२ गाई र ७२ हजार नौ सय ७८ भैँसी पालिएको छ ।
लक्षण र कारण
गाईभैँसीमा यो रोग देखा परेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दुध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्याल काँढ्ने, लिम्फनोड सुक्ने जस्ता लक्षण देखा पर्छ ।
यो रोग विशेष गरी सङ्क्रमित लामखुट्टे, झिँगालगायतको टोकाइबाट लाग्ने गर्दछ । सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवम् पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ ।
बच्ने कसरी ?
यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिँगा, लामखुट्टे तथा अन्य किराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकताअनुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने आचार्यले बताउनुभयो । रोग लाग्नबाट बचाउनका लागि लम्पिस्किन विरुद्धको खोप लगाउन आवश्यक रहेको उहाँको भनाइ छ । (रासस)