• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

तीन संस्मरण : छाता, माहिली फुपू र का. श्यामबहादुरका मान्छे

"सङ्क्षिप्त संस्मरण शृङ्खला–१७ "

  •   शुक्रबार, जेठ २६, २०८० मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    १. यो छाता कसको हो ?
    ललितपुरको मछिन्द्रनाथको जात्राको अन्तिम दिन एउटा हीरामोतीजडित भोटो देखाएर सोध्ने गरिन्छ : ‘यो भोटो कसको हो ?’ त्यो भोटो देखाउने जात्राका पछाडि एउटा कथा छ ।

    पहिले ललितपुरको एउटा किसानलाई नागराजाद्वारा प्राप्त हिरामोतीजडित एउटा भोटो प्राप्त भएको थियो रे पछि त्यो भोटो चोरी भएछ । मछिन्द्रनाथको जात्राको बेलामा त्यो भोटो लगाएर त्यो चोर जात्रामा गएछ । जसको त्यो भोटो थियो, त्यो किसानले आफ्नो चोरेको भोटो चिनेछन् र त्यसका लागि दुवै जनाको बिचमा झगडा परेछ । त्यो उजुरी पुगेपछि राजाले अर्को दिन दुवै जनालाई आफ्नो प्रमाण ल्याएर आउन भनेछन् तर अर्का दिन कोही पनि आएनन् । त्यसपछि मछिन्द्रनाथको जात्राको अन्तिम दिन मछिन्द्रनाथको रथको बार्दलीबाट त्यो भोटोलाई चारैतिर घुमाएर देखाउँदै सोधियो : ‘यो भोटो कसको हो ?’ तर त्यो बेलादेखि अहिलेसम्म त्यो भोटो मेरो हो भनेर दाबी गर्ने कुनै मान्छे आएको छैन तैपनि प्रत्येक साल मछिन्द्रनाथ जात्राको अन्तिम दिन त्यसैगरी त्यो प्रश्न सोध्ने गरिन्छ ।

    करिब करिब त्यही प्रकारको प्रसङ्ग मसित जोडिएको एउटा छातासित पनि जोडिएको छ ।

    धेरै वर्षपहिलेको कुरा हो, सायद दस वर्षभन्दा बढी समय बितिसके होला । हामी भक्तपुर कौशलटारको एउटा डेरामा बस्ने गर्दथ्यौँ ।

    एक दिनको कुरा हो, म काठमाडौँबाट बसमा कौशलटारतिर जादै थिएँ । बसमा भिड थियो । अगाडिपट्टिको एउटा सिटमा बसेको थिएँ । मेरो अगाडिपट्टि एउटा मान्छे उभिएका थिए । उनको अनुहारमा त मैले राम्ररी हेरिनँ । अब उनको अनुहारबारे मलाई कुनै सम्झना पनि छैन तर मलाई यति सम्झना छ : उनले गेरुवा रङको कुर्ता लगाएका थिए ।

    कौशलटार आइपुगेपछि म बसबाट झरेँ । बसबाट झर्ने बेलामा त्यो मान्छेलाई छाता दिने कुराको मलाई सम्झना भएन । मलाई ती मान्छेले पनि सायद सम्झेनन् र मसित छाता मागेनन् । बस हिँडेपछि मलाई छाताको सम्झना भयो । बस हिँडिसकेको थियो । म केही परसम्म बसको पछि पछि दौडिदै गएँ तर मैले बसलाई भेटाउन सकिनँ र छाता पनि दिन पाइनँ ।

    पछि कौशलटारबाट बसमा आउँदा वा जाँदा मैले सँगै त्यो छाता लगेर जान्थेँ र बसका मान्छेहरूलाई हेर्दथेँ । त्यसरी कुनै मान्छे त्यो छाता ‘मेरो हो’ भनेर आउँछ कि भनेर विभिन्न मान्छेहरूका मुखमा हेर्दथेँ तर कुनै मान्छेले पनि मलाई त्यसो भनेनन् । त्यो बेला मैले प्रायश: मछिन्द्रनाथ यात्राको भोटो जात्रालाई सम्झन्थेँ र कुनै अग्लो ठाउँमा उभिएर भनौँ भनौँ जस्तो लाग्दथ्यो : ‘यो छाता कसको हो ?’ तर मैले त्यसो भन्न सक्दिनथेँ ।

    अब त्यो छाता पुरानो भइसक्यो र अब मसित त्यो छाता छैन पनि तैपनि कुनै दिन कुनै मान्छेले यो संस्मरण पढेर त्यो छाताको दाबी गर्न आएमा नयाँ छाता किनेर भए पनि मैले उसको छाता फर्काइदिने थिएँ ।

    २. फुपूको पाउर
    हाम्रा बुबाका कति जना दिदीबहिनी हुनुहुन्थ्यो ? त्यो कुराको मलाई राम्ररी सम्झना छैन । हाम्रा तीनओटी फुपूलाई मैले सम्झन्छु : माहिली, साहिली र कान्छी फुपू ।

    माहिली फुपूसँग बुबाको राम्रो सम्बन्ध थिएन । उहाँलाई देखेपछि बुबा धेरै नै रिसाउनुहुन्थ्यो । त्यसकारण उहाँ हाम्रो घरमा एकपल्ट मात्र आएको सम्झना छ । त्यसपछि उहाँ फेरि कहिल्यै हाम्रो घरमा आउनुभएन ।

    साहिली फुपूसित भने बुबाको राम्रै सम्बन्ध थियो र उहाँ हाम्रो घरमा आएर महिनौँसम्म बस्ने गर्नुहुन्थ्यो ।

    कान्छी फुपूको हाम्रो राम्रै सम्बन्ध र आवतजावत पनि थियो ।

    पहिले ता मलाई थाहा भएन, केही ठुलो भएपछि मलाई थाहा भयो : उहाँले बुबासित आमाका बारेमा कैयौँ कुरा लगाउने गर्नुहुन्थ्यो ।

    खास गरेर हाम्रा पछिल्ली आमाहरू लुवाल्नी र बाझखर्के आमाबारे उहाँले बुबालाई कैयौँ कुरा लगाउने गरेको र त्यसपछि उहाँले आमाहरूलाई पिट्ने गरेको कुरा थाहा भयो । त्यो थाहा पाएपछि मैले एक दिन माहिली फुपूलाई हाम्रो घरमा नआउन भनेर पठाइदिएँ । त्यसपछि उहाँ फेरि कहिल्यै हाम्रो घरमा आउनुभएन ।

    म २०२७ सालको चैतमा काठमाडौँ जेलबाट छुटेँ तर २०४८ सालमा मात्रै घरमा आएँ । त्यो बेला हाम्रा सबै आमा र दाजुभाइको अंशवण्डा भइसकेको थियो । सबै जना बेग्लाबेग्लै बस्ने गर्नुहुन्थ्यो । ओखरकोटको घर दाजुको अंशमा परेको थियो तैपनि म प्रायश: त्यो घरमा गएर बस्ने गर्दथेँ ।

    ओखरकोटको घरमा म एक्लै बसेको थिएँ । आमाको मृत्यु भइसकेको थियो र घरमा म एक्लै थिएँ । त्यही बेला एक दिन माहिली फुपू घरमा आइपुग्नुभयो । उहाँले एउटा मान्छेलाई बोकाएर थुन्सेभरि पाउर ल्याएर आउनुभएको थियो । उहाँले ल्याएको पाउरमा सेल, अनरसा, फिनी, कुराउनी आदि र केरा पनि थियो ।

    एकदुई दिन बसेपछि उहाँ फर्केर जानुभयो । जाँदा उहाँले बाटामा मान्छेहरूसित यो कुरा भन्दै जानुभएको रहेछ : ‘मेरो भदैले राजाबाट नौदस लाख रुपैयाँ ल्याएर आए पनि मलाई एक रुपैयाँ पनि दिएन र खाली हात फर्कनुपर्‍यो ।’

    जेलको एउटा बैठकमा हामीले नेपाली काङ्ग्रेससम्बन्धी पार्टीको पुरानो विश्लेषण अर्थात् नेका राष्ट्रिय पुँजीपति वर्गको पार्टी र नयाँ जनवादी क्रान्तिको मित्रशक्ति हो भन्ने विश्लेषणलाई बदलेर त्यो राजा जस्तै सामन्त तथा दलाल र नोकरशाही पुँजीपति वर्गको पार्टी भएको, त्यसैले वर्गीय दृष्टिकोणले त्यसलाई दुस्मनशक्ति भएको निष्कर्ष निकालेका थियौँ । हामीले त्यो दस्तावेज जेलबाहिर पार्टीमा पनि पठाइसकेका थियौँ ।

    हाम्रो नयाँ विश्लेषणबाट पुष्पलाल हामीसित धेरै नै रिसाउनुभएको थियो र हाम्रो विरुद्ध व्यापक प्रचार गर्न थाल्नुभएको थियो । उहाँको त्यस प्रकारको व्यवहारलाई लक्षित गरेर २०२७ फागुन २७ गते अर्थात् जेलबाट छुट्नुभन्दा ठिक एक महिनापहिले लेखिएको एउटा कविता “माटामा नै जन्मेकी हुँ माटामा नै मर्ने छु…” मा मैले लेखेको थिएँ : “अहिलेसम्म मैले जेलका चारओटा पर्खालभित्र नै आफुलाई थुनिएको मान्दै आएको थिएँ तर अब मलाई यस्तो लाग्न थालिरहेको छ कि मेरा आफ्नै साथीहरूले त्यसभन्दा बाहिर मेरा वरिपरि झन् अग्ला अग्ला पर्खालहरू खडा गर्दै गइरहेका छन् ।”

    मैले “विद्यमान” व्यवस्थाको विरोध गरेबापत् सरकारले मलाई नजरबन्दमा राख्यो, सम्मानित अतिथिको रूपमा । उसले मलाई पैतालामा कोर्रा लगाउँछ तर त्यो बेला जब मैले उसको “आतिथ्य” लाई अस्वीकार गर्न थाल्छु, भोकै बस्न थाल्छु तर मेरा आफ्नै साथीहरू त्यो बेला मेरा मुटुमा कोर्रा लगाउँछन्, जब मेरो हृदयभरि उनीहरूप्रति प्रेम भरिएको हुन्छ… ।

    त्यो कवितामा यो पनि लेखिएको छ : सरकारले मलाई अनिश्चि समयसम्म जेलमा राखिरहेको छ किनभने “मरेँ” भनेर स्वीकार गर्न म तयार छैन तर मलाई ज्युँदै “मरिसकेको” घोषणा गरेर मेरा आफ्नै साथीहरूले त्यो काम गर्दै छन्, जुन काम सरकारले मलाई नौ वर्षसम्म थुनामा राखेर गर्न सकेको छैन र जुन काम सरकारले मलाई १०० वर्षसम्म जेलमा राखेर पनि गर्न सक्ने छैन… ।

    त्यो कविताको अन्तमा लेखिएको छ : तर मैले कसरी बताऊँ कि त्यो बेला पनि मैले जीवित रहनका लागि सङ्घर्ष गरिरहने छु ? जब म मरिरहेको हुने छु, मलाई एकपल्ट फेरि बताऊँ बताऊँ जस्तो लाग्दछ : “म माटामा नै जन्मेको हुँ, म माटामा नै मर्ने छु ।”

    म जेलबाट छुटेपछि पुष्पलालले मेरा विरुद्ध राजाबाट १० लाख रुपियाँ खाएर छुटेको भन्ने प्रचार पनि गर्नुभएको थियो ।

    पुष्पलालले गरेको त्यो प्रचार कतैबाट माहिली फुपूको कानमा पनि परेको थियो । त्यसैले हाम्रो घरमा कहिल्यै आवतजावत नगर्ने माहिली फुपू धेरै नै पाउरपात ल्याएर मलाई भेट्न आउनुभएको थियो । मैले केही पनि पैसा नदिएकोमा उहाँ मसित धेरै नै रिसाउनुभएको थियो ।

    ३. का. श्यामबहादुरका मान्छे
    म ओखरकोटबाट झरेर पिपलनेटाभन्दा केही अगाडि भएर नारिकोटतिर जादै थिएँ । पुलिसहरू मलाई खोज्न गाउँ गाउँमा घुमिरहेका थिए । बाटामा भेट भएका मान्छेहरूले मलाई कता जाँदै हुनुहुन्छ भनेर सोधे । म जानलाई नारिकोटतिर जादै थिएँ तर म नारिकोट गएको थाहा पाएर पुलिसहरू मेरा पछि उतै लाग्लान् भन्ने सोचेर मैले भनिदिएँ : ‘टिमुरचौर जान थालेको’ ।

    केही बेरमा पुलिसहरू त्यही ठाउँमा आइपुगेछन् । उनीहरूले त्यहाँ बसेका मानिसहरूलाई सोधेछन् : ‘मोहनविक्रम यतै जानुभएको थियो रे ! उहाँ कता जानुभएछ ? देख्नु भएथ्यो ?’ मैले ती मानिसहरूलाई टिमुरचौरतिर जान थालेको भनेको थिएँ । त्यहाँ बसेका मानिसहरूले मैले बताएको ठाउँभन्दा उल्टो नारिकोटतिर गएको बताइदिएछन् ।

    म नारिकोट गाउँको फेदीमा पर्ने कोइराको का. खगुलालको घरमा पुगेर बसेको थिएँ । घरका केही केटाकेटीले पाल्तिर डाँडामा चारपाँच जना पुलिसहरू खगुलालको घरतिर आएको देखेछन् । त्यो समाचार पाउनेबित्तिकै खगुलालले मलाई आफ्नो छिमेको एउटा घरमा लुकेर बस्न पठाउनुभयो ।

    पुलिसहरूले खगुलालको घरमा आएर मेराबारेमा सोधपुछ गरेछन् । उनीहरूले पिपलनेटाभन्दा केही अगाडि एक ठाउँमा बसेका मानिसहरूले मलाई नारिकोटतिर लागेको पनि बताएका रहेछन् । खगुलालले म उहाँको घरमा पसेर नारिकोटतिर उकालो लागेको बताइदिनुभएछ । पुलिसहरू नारिकोटतिर उकालो लागेछन् ।

    पुलिसहरू गएपछि खगुलालजी म बसेको ठाउँमा आउनुभयो । उहाँ मलाई नारिकोटतिर आएको बताउने मानिसहरूसित निकै रिसाउनुभएको थियो । मैले उहाँलाई स्पष्ट गरिदिएँ : ‘मैले उनीहरूले मलाई बचाउन नै म नारिकोटतिर गएको बताएको हुनुपर्छ । त्यसैले उनीहरूको कुनै दोष थिएन ।’

    प्युठान माझकोटमा पार्टीको एउटा भूमिगत बैठक बस्ने ठेगान भएको थियो । हामी मच्छीबाट मरन्ठाना आइपुगेका थियौँ । त्यो बेला वर्षा सिद्धिसकेको थियो तर खोलो अझै ठुलो थियो । त्यसैले जहाँतहिँबाट खोलो तर्न सम्भव हुँदैनथ्यो, त्यो पनि रातको बेलामा ।

    बाग्दुलाको पुल अझै बनिसकेको थिएन । हामीले खोला तारिदिनका लागि मरन्ठानाका साथीहरूसित कुरा गर्‍यौँ र उहाँहरूसँगै झिमरुक नदीतिर लाग्यौँ । त्यही बेला हामीले पारितिर कसैले टर्चलाइट बालेको देख्यौँ । टर्चलाइट बालेको देखेपछि हामीलाई कोही पुलिस वा सिआइडी हो कि भन्ने शङ्का लाग्यो । हामी खोलो तर्नका लागि झिमरुकको तिरैतिर केही तलतिर गयौँ । पारितिरका मानिसहरू पनि टर्चलाइट बाल्दै तलतिर गए । त्यो देखेर हाम्रो शङ्का झन बढ्यो ।

    हामी फर्केर आयौँ र बाटाबाटै कुटिचौरतिर लाग्यौँ । त्यहाँको झोलुङ्गे पुल तरेर माझकोटमा बाग्दुलाभन्दा केही माथि जङ्गलको बिचमा एकान्तमा रहेको का. श्यामबहादुर थापाको घरमा पुग्यौँ । बैठक त्यहीँ गर्ने ठेगान भएको थियो ।

    त्यहाँ पुगेपछि हामीलाई थाहा भयो, मरन्ठानाभन्दा पारिपट्टि टर्चलाइट बाल्ने मान्छेहरू हामीलाई लिन श्यामबहादुर थापाले पठाएका साथीहरू रहेछन् तर पहिले हामीलाई साथीहरू आउने कुराको कुनै सूचना थिएन । उनीहरूले टर्चलाइट बाल्दै आएको हुनाले हामीलाई झन् शङ्का लागेको थियो । त्यही शङ्काको कारणले हामीले कुटिचौरको झोलुङ्गे पुल, दम्ती र गेजवाङसम्मको लामो बाटो घुम्दै श्यामबहादुर थापाको घरमा पुग्नुपरेको थियो ।

    शुक्रबार, जेठ २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट
    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.