काठमाडौं । सुनकोशी नदीमा खसेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र (सीटीईभीटी) को गाडी र दुई कर्मचारीको शव फेला परेको छ ।
सिन्धुलीको गोलन्जरस्थित सुनकोशी नदीमा गाडी खस्दा बेपत्ता सीटीईभीटीका प्रशासन महाशाखा निर्देशक सहसचिव वर्ष ५७ का कृष्णबहादुर केसी र विद्युत प्रशिक्षक वर्ष ३२ का भानु पौडेलको शव फेला परेको हो ।
दुर्घटनामा अझै एक जना बेपत्ता छन्। बेपत्ता योजना महाशाखा निर्देशक प्रेमप्रसाद भुर्तेलको गोताखोरले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
उद्धार टोलीले नदीको मुख्य भंगालोलाई अस्थायी बाँधले थुनेर पश्चिमतर्फ फर्काएपछि गाडी भेटिएको हो।
घुर्मी–खुर्कोट खण्डको सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनबाट जेठ १९ गते सुनकोशी नदीमा गाडी खसेको थियो।
मंगलबार अपरान्ह गाडीभित्रै दुई जनाको शव भेटिएको हो। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिन्धुली लगिएको छ।
सीटीईभीटीको गाडी नदीमा खस्दा प्रशासन शाखाका निर्देशन कृष्ण केसी, योजना महाशाखा निर्देशक प्रेमप्रसाद भुर्तेल र विद्युत प्राविधिक भानु पौडेल बेपत्ता भएका थिए।
गाडी चालक कृष्ण चौधरी भने पौडिएर बाहिर निस्कन सफल भएका थिए। बेपत्ताको खोजीका लागि शसस्त्र प्रहरी बलको गोताखोर टिम परिचालन गरिएको थिषो।