काठमाडौं । खप्तडमा प्रथम अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु भएको छ। मंगलबार उद्घाटन भएको सम्मेलन २५ गतेसम्म चल्ने छ ।
खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा सुरु भएको सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको हो ।
उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले चार जिल्ला (बझाङ, बाजुरा, अछाम र डोटी) को सङ्गमस्थल खप्तडलाई अब ‘खप्तड विकास प्रतिष्ठान’ वा ‘खप्तड विकास कोष’को रूपमा विकास गरिने उल्लेख गर्नुभयो । खप्तडको विकासका लागि लगानी बोर्डले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) समेत तयार गरिसकेको उहाँले जानकारी दिनुभयो ।
योगगुरु रामदेवले खप्तड अलौकिक क्षेत्र भएको बताउनुभयो । ‘खप्तड एउटा आध्यात्मिक क्षेत्रका लागि प्रकृतिले दिएको गहना जस्तै हो । अब यसको संसारभर आध्यात्मिक पर्यटनको रूपमा प्रचार हुनेछ’, उहाँले भन्नुभयो–‘भू–स्वर्ग भनेकै खप्तड हो, त्यसैले जिवित छँदा नै सबैले खप्तड पुग्नुपर्छ ।’
पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पराराष्ट्रमन्त्री एनपी साउद, नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, सांसद, प्रदेशसभा सदस्य, विभिन्न देशका राजदूत, आध्यात्मिक क्षेत्रका प्रतिष्ठित व्यक्तिलगायत खप्तड पुगेका छन् ।
व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहले सम्मेलनमा करिव ५ सय बढीको उपस्थिति रहने बताउनु भयो । उहाँले योगगुरु रामदेवसँगै जगतगुरु वालसन्त, आयुर्वेद शिरोमणि बालकृष्ण आचार्य लगायत आध्यात्मिक क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने बताउनुभयो ।
जैविक विविधता र प्राकृतिक सौन्दर्य र आध्यात्मिक आस्थाको धरोहरका रुपमा रहेको खप्तड क्षेत्रलाई आध्यात्मिक ध्यान केन्द्रका रुपमा विकास गर्न यो सम्मेलनको आयोजना गरेको व्यवस्थापन समितिले जनाएको छ। सम्मेलनमा चर्चित योगगुरु रामदेवले योग प्रशिक्षण तथा आध्यात्मिक प्रशिक्षण दिनुहुन्छ ।






