दाङ । राष्ट्रपतिद्वारा प्रमाणीकरण भएको नागरिकता विधेयक विरुद्ध राष्ट्रिय जनमोर्चा तुलसीपुर नगर समितिले विरोध प्रदर्शन गरेको छ ।
राष्ट्रघाती नागरिकता विधेयकको खारेजी र भारतद्वारा लुम्बिनी, कपिलवस्तु लगायतका नेपाली भूमि भारतीय नक्सामा समावेश गरेको भन्दै आज विरोध सभाको कार्यक्रम गरेको हो ।
दाङ तुलसीपुरको विपि चोकमा भएको विरोध सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (मसाल) का जिल्ला प्रवक्ता भरत भण्डारीले भारतको संसदमा नेपाली भूमि समेत समावेश गरिएको नक्सा सार्वजनिक गरेर साम्राज्यवादको असली रूप देखाएको बताउनु भयो ।
उहाँले भारतले नेपालको सयौं ठाउँमा हज्जारौं हेक्टर जमिन कब्जा गरेको, अहिले पनि नेपाली भूमी कालापानीमा भारतीय सैनिक अखडा राखेको, सुस्ता, पशुपतिनगर लगायतका सयौं ठाउँमा नेपालको भूमि अतिक्रमण गरेको बताउँदै भारतीय शासक वर्गको हेपाह प्रवितृका विरूद्ध नेपाल कम्युनिस्ट पार्टी (मसाल) चरणबद्ध अन्दोलनमा रहेको बताउनु भयो ।
प्रवक्ता भण्डारीले संघीयताका कारण देशको साधारण खर्च अस्वभाविक रूपमा बढ्न गई देशको अर्थतन्त्र धराशाहि हुन पुगेको बताउनु भयो । आफ्नो पार्टीले शुरू देखि नेपालका लागि संघीयता गलत भन्दै विरोध गरेको तर ठूला भनिएका पार्टीहरूको हठका कारण संघीयता लागू भएको बताउँदै संघीयता खारेज नभए देश असफल राष्ट्रमा परिणत हुने र यहि मौका छोपी छिमेकीले झन् धेरै हडप्ने बताउनु भयो ।
विरोध सभालाई राजमो जिल्ला सदस्य तथा तुलसीपुर नगर समितिका अध्यक्ष इश्वरी प्रसाद भण्डारीले नागरिकता विधेयकका माध्यमबाट देश फिजिकरणको दिशामा गएको भन्दै नेपाली वीर शहिदले जोगाएको देश नेपालका कथित प्रजातन्त्रवादी, कथित जनवादी, कथित समाजवादीहरूले भारतीय साम्राज्यवादको पाउमा चढाउन कोसिस गरेको बताउनु भयो ।
उहाँले जवारलाल नेहरूको पालादेखि भारतले नेपाललाई गाभ्न खोजेको बताउँदै भारतको ईच्छा नेपालका राष्ट्रघाती नेताहरूले पूरा गर्न खोजेको बताउनु भयो ।
भण्डारीले राष्ट्रपतिबाट देशको राष्ट्रियताको घाँटी निमोठ्ने काम गरेको बताउँदै मातृभूमिको रक्षाका लागि जनता एकताबद्ध हुनु पर्नेमा जोड दिनु भयो ।
विरोध सभालाई अखिल नेपाल किसान महासंघ (अफ्फा) का जिल्ला अध्यक्ष ऋषिराम पौडेलले सञ्चालन गर्नु भएको थियो ।
यसअघि संसदले पारित गरेको तर तात्कालिक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी रोकेर राखेको नागरिकता विधेयक हालै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका हुन्।
अंगीकृत नागरिकता पाएकाहरूबाट जन्मेका सन्तानलाई र नेपालमा जन्मेका गैर नेपालीका सन्तानलाई समेत जन्मका आधारमा वंशजको नागरिकता दिने प्रावधान सहित नागरिकता विधेयकको प्रमाणीकरणका विरूद्ध राष्ट्रिय जनमोर्चाले देशव्यापी विरोधका कार्यक्रमहरू गर्दै आएको छ ।