विराटनगर । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरिरहेको ‘अमेरिकी साम्राज्यवादविरुद्ध मेची महाकाली अभियान’ को पूर्वी टोलीले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरेको छ ।
पत्रकार सम्मेलनमा राजमो नेताहरुसँग पत्रकारहरुले विभिन्न जिज्ञासा राखेका छन् । खासगरी ‘राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यवादको किन विरोध गरिरहेको छ ?, अहिले तपाईंहरुले भारतको किन विरोध गर्नुभएको छैन ?, तपाईंहरुले चुनावमा पनि भाग लिनुहुन्छ, सांसद नि बन्नुहुन्छ फेरि पनि संघीयताको विरोध गर्नु हुन्छ ?, गणतन्त्रमाथि को बाट कसरी खतरा छ ?, चीन घेर्ने अमेरिकी नीतिले नेपाललाई के सरोकार राख्छ ? जस्ता प्रश्नहरु राखेका थिए ।
ति प्रश्नको राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव हिमलाल पुरीले जवाफ दिनुभएको थियो । सचिव पुरीले अमेरिकी साम्राज्यवादको गम्भीर खतरामाथि ध्यान दिएर राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यवादका विरुद्ध मेची–महाकाली अभियान सञ्चालन गर्ने निर्णय गरेको बताउनु भयो ।
त्यसक्रममा पुरीले भन्नुभयो, ‘नेपालमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप बढेर गएको छ । पहिले त्यसले नेपालका विभिन्न राजनीतिक पार्टीमा घुसपैठ गरेर सरकारमाथि दबाब दिएर वा भारतको माध्यमद्वारा नेपालमा आफ्ना साम्राज्यवादी उद्देश्य पूरा गर्ने प्रयत्न गर्दथ्यो । अब त्यसले प्रत्यक्ष रूपले नै नेपालमा हस्तक्षेप गर्ने नीति अपनाएको देखिन्छ । त्यसका लागि नेपालमा अमेरिकी साम्राज्यवादको प्रत्यक्ष निर्देशनमा चल्ने पार्टी बनाएर संसद् र सरकारमा समेत आफ्नो प्रभुत्व कायम गर्न प्रयत्न गर्न थालेको देखिन्छ ।’
नेता पुरीले राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिले जारी गरेको प्रेस विज्ञप्ति प्रस्तुत गर्दै अहिले गणतन्त्र स्वयम् गणतन्त्रकै लागि लडेका शक्तिहरुबाट खतरामा परेको बताउनुभयो । उहाँले राजमोले संघीयताको अहिले आएर विरोध नगरेको पनि स्पष्ट पार्नुभयो ।
साथै, राष्ट्रियता, भौगोलिक अखण्डता र सार्वभौमिकताका लागि राष्ट्रिय जनमोर्चाले भारतीय वा जुनसुकै वैदेशिक हस्तक्षेपको डटेर सामना गर्ने बताउनुभयो ।
राजमोका केन्द्रीय सल्लाहकार टंक प्रसाद गौतमको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीले गर्नुभएको थियो ।
कार्यक्रममा राजमोका केन्द्रीय सदस्य चन्द्र सापकोटा, वामपन्थी नेता हरिकान्त शर्मा, अखिल (छैठौं)का केन्द्रीय सदस्य सन्ध्या भट्टराई, राजमो मोरङका जिल्ला सदस्य कृष्णबहादुर खड्का लगायत नेताहरूको उपस्थिति रहेको थियो।
इटहरी चोकमा कोणसभा
त्यसैगरी सुनसरीको इटहरी चोकमा कोणसभा सम्पन्न भएको छ । नेता चन्द्र सापकोटाको सञ्चालनमा भएको कोण सभालाई सम्बोधन गर्दै राजमो कोशी प्रदेशका अध्यक्ष अमृत पाण्डेले अमेरिकी हस्तक्षेप धार्मिक– सांस्कृतिक रूपमा बढ्दै गएको बताउनुभयो । उहाँले अहिले अमेरिकी साम्राज्यवादले नेपालमाथि सिधै हस्तक्षेप गरिरहेको बताउनुभयो।
उहाँले भन्नुभयो–‘अमेरिकाको अहिलेको मुख्य उद्देश्य नेपाललाई त्यसको इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत ल्याउनु नै हो । त्यो रणनीतिको उद्देश्य चीनलाई घेराबन्दी गर्नु र चीनका विरुद्धको युद्धमा नेपाललाई आफ्नो युद्धको अखडा बनाउनु हो ।’
नेता पाण्डेले नेपालको राष्ट्रियता, सार्वभौमिकता, गम्भीर खतरामा रहेको भन्दै त्यसका विरुद्ध सम्पूर्ण नेपाली एकजुट हुन आग्रह गर्नुभयो ।
अमेरिकाले नेपालको लोकतन्त्र खत्तम पारेर अधिनायकवाद स्थापना गर्न चाहन्छ : पौडेल