गोरखा । प्रेस सेन्टर नेपालले सरकारले सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको अनुदान कटौती गर्ने विज्ञापन बोर्डको निर्णय सच्चाउन माग गरेको छ ।
गोरखामा आइतबार सम्पन्न प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश र गोरखा जिल्ला समन्वय समितिको साधारणसभाले ११ बुँदे गोरखा घोषणापत्र जारी गर्दै विज्ञापन बोर्डले हालै गरेको अनुदान कटौतीको निर्णयले स्वरोजगारमूलक सञ्चारमाध्यम र पत्रकारलाई असर पर्ने जनाउँदै सच्चाउन माग गरेको हो ।
कोभिड–१९ विश्वव्यापी आर्थिकमन्दीजस्ता कारणले समस्यामा परेका सञ्चारमाध्यमको सबलीकरण र पत्रकारको पेसागत सुरक्षाका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याउन तथा विज्ञापन क्षेत्रमा देखिएको विकृति नियन्त्रण गर्न तीनै तहका सरकारको ध्यानाकर्षण गराएको साधारणसभापछि प्रेस सेन्टर गण्डकीका महासचिव सन्तोष गौतमले जारी गरेको घोषणापत्रमा उल्लेख छ ।