काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले छिमेकी देशका सत्ताधारी पार्टीका संगठनहरुले नेपाललाई हिन्दु राष्ट्र बनाउन वकालत गर्दै हिँडेकोबारे सरकारको जवाफ माग गर्नुभएको छ ।
आइतवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य केसीले सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।
उहाँले भन्नुभयो – ‘धर्म व्यक्तिको आस्थाको कुरा हो । केही दिन पहिले छिमेकका सत्ताधारी पार्टीका नजिकका संगठनहरुले नेपाललाई हिन्दु राज्य बनाउनुपर्छ । त्यसकारणले तपाईहरुले हिन्दु राज्यको पक्षमा वकालत गर्नुपर्यो । हामीले चाहिएको आवश्यक मद्दत गर्न पनि सक्छौँ भन्ने किसिमको कुरा आयो । त्यो जानकारी अमेरिकन राजदूतावासबाट हामीलाई जानकारी भयो ।’
उहाँले देशमा धर्मलाई राजनीतिको दुनो सोज्याउने हतियार बनाइएको भन्दै यसतर्फ सचेत गराउनु भयो ।
अध्यक्ष केसीले भन्नुभयो, ‘नेपालमा एकातिर हिन्दु धर्मको नारा लाएर राजनीति रोटी सेकाउने । अर्कोतिर इसाइ धर्मलाई हतियार बनाएर आफ्नो दुनो सोज्याउने र बौद्ध धर्मलाई हतियार बनाएर आफ्नो राजनीति दुनो सोज्याउने प्रवृत्ति नेपालमा देखापरेको छ । यो गम्भिर कुरा हो ?’
नीति तथा कार्यक्रममा केसीको सुझाव : कालापानीबाट भारतीय सेना हटाउने, संघीयता खारेजी