काठमाडौँ । नेपाल पत्रकार महासङ्घले तिसौँ प्रेस स्वतन्त्रता दिवस मनाएको छ ।
२०८० वैशाख २० गते (मे ३) का दिन एकैदिन तीन बेग्लाबेग्लै कार्यक्रम सम्पन्न गर्दै महासङ्घको केन्द्रीय कार्यालयले विश्व स्वतन्त्रता दिवस मनाएको हो ।
प्रभातफेरी
महासङ्घले विश्व प्रेस स्वतन्त्रता दिवसको कार्यक्रम प्रभातफेरी कार्यक्रमसँगै सुरु गरेको थियो । त्यस क्रममा बिहान ८ बजे सिनामङ्गल चोकदेखि महासङ्घको केन्द्रीय कार्यालयसम्म प्रभातफेरी निकालिएको थियो ।

कार्यक्रममा पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, पूर्व अध्यक्ष तथा राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा, प्रगतिशील पत्रकार सङ्घ नेपालका महासचिव प्रकाश थापामगरलगायत महासङ्घका पदाधिकारी, महासङ्घकै उपत्यका, काठमाडौँ र ललितपुर शाखाका पदाधिकारी र विभिन्न पत्रकार सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
सञ्चारमन्त्रीको सम्बोधन
प्रभातफेरी सञ्चारग्राम प्रवेश गर्दै गर्दा सूचना तथा प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माको प्रवेश भएको थियो । प्रेस स्वतन्त्रताका लागि ज्यान आहुति दिने सहिदप्रति माल्यार्पणसँगै कार्यक्रमलाई मन्त्री शर्माले सम्बोधन गर्नुभएको थियो ।

सो अवसरमा उहाँले लोकतान्त्रिक गणतन्त्रको रक्षा सबैको प्रमुख कर्तव्य भएको बताउनुभयो ।
‘लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु पत्रकारिता क्षेत्रको पनि कर्तव्य हो’ उहाँले भन्नुभयो ।
सम्बोधनको क्रममा उहाँले प्रेस स्वतन्त्रताका लागि कानुन बनाउने काम अझै बाँकी रहेको पनि बताउनुभयो ।
त्यस्तै, कार्यक्रमलाई पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सम्बोधन गर्दै पूर्ण प्रेस स्वतन्त्रताको कार्यान्वयनका लागि लामो लडाइँ लड्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
सो कार्यक्रमको सहजीकरण महासचिव रोशन पुरीले गर्नुभएको थियो ।
वार्षिक प्रतिवेदन सार्वजनिकीकरण
विश्व प्रेस स्वतन्त्रता दिवस कार्यक्रमको तेस्रो शृङ्खला पत्रकार महासङ्घको वार्षिक प्रतिवेदन सार्वजनिकीकरणको थियो ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप्तबहादुर मगरको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम अघि बढेको थियो । आयोगका अध्यक्ष मगरले वार्षिक प्रतिवेदन सार्वजनिकीरणका साथै सङ्क्षिप्त मन्तव्य राख्नुभएको थियो ।

प्रतिवेदनमा गत एक वर्षमा कुल ५५ ओटा प्रेस स्वतन्त्रता विरोधी घटना घटेको उल्लेख छ । त्यसमध्ये गिरफ्तारी दुई, कब्जा वा अवरोध सात, आक्रमण ११, दुव्र्यवहार वा धम्की २३, विस्थापन एक, पेसागत असुरक्षा आठ र लैङ्गिक हिंसाका दुई घटना घटेको उल्लेख छ ।
कार्यक्रममा प्रगतिशील पत्रकार सङ्घ, नेपालका अध्यक्ष प्रकाश थापामगर, समाजवादी प्रेस सङ्गठनका महासचिव भूपराज खड्का, सामुदायिक रेडियो सङ्गठन (अकोर्याब) का अध्यक्ष अर्जुन गिरी, प्रेस सङ्गठन नेपालका अध्यक्ष विष्णु सापकोटा, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गिता खड्का, निर्वतमान अध्यक्ष तथा सल्लाहकारहरू गोविन्द आचार्य र डा. महेन्द्र विष्टले मन्तव्य राख्नुभएको थियो ।

सम्बोधनमा वक्ताहरूले अनलाइन मिडियामा प्राविधिक रूपमा नै प्रवेश गरेर सामग्री मेटाउने जस्तो डिजिटल आक्रमण अहिलेको गम्भीर विषय भएको बताउनुभएको थियो ।
सो कार्यक्रमको अध्यक्षता महासङ्घका अध्यक्ष विपुल पोखरेलले, सञ्चालन महासचिव रोशन पुरीले र स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष रमेश विष्टले गर्नुभएको थियो ।