नेपालगन्ज। नेकपा (मसाल) बाँकेको आयोजना सोमबार कोहलपुर न्युरोड चोकमा मेदिवस सहितको समारोहका बीच पार्टीको ऐतिहासिक तीन अभियानको उद्घाटन गरिएको छ । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रस्मिराज नेपालीले अभियानको उद्घाटन गर्नुभयो ।
एक वर्षसम्म चल्ने उक्त अभियान अन्तरगत लेनिनको शताब्दी स्मृति दिवस, पार्टीको हिरक जयन्तीको वर्ष र नेकपा (मसाल) को नवौं महाधिवेशन रहेको जनाइएको छ।
उद्घाटनका क्रममा उहाँले लेनिनलाई हामीले महत्त्व दिनुको अर्थ लेनिनवादी संगठनात्मक पद्धति भएको तथा संगठन वा राजनीतिमा विचार पक्ष प्रधान हुने बताउनु भयोे ।
अहिलेको मुख्य विषय अमेरिकी सम्राज्यवाद विरुद्धको लडाइँ नै भएको उल्लेख गर्दै राष्ट्रियता अत्यन्त खतरामा परेकोले नेपाली जनताले डटेर संघर्ष गर्नुपर्ने बेला आएको बताउनु भयो ।
कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष कृष्णराज पाण्डेले देशमा एकातिर अमेरिकी साम्राज्यवादको चलखेल र अर्कोतिर प्रतिगामी षडयन्त्र दुवैका विरुद्ध संघर्ष गर्नुपर्ने बताउनुभयो । पार्टीको यो अभियानबाट कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रुपान्तरण हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।
समारोहमा अखिल नेपाल किसान महासंघ (अफ्पा) का महासचिव तुलसीराम सापकोटाले पनि देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको लागि संघर्ष गर्न नेपाली जनतामा जागरणको लागि पार्टीको अभियान फलदायी हुने विश्वास व्यक्त गर्नुभएको थियोे ।
नेकपा (मसाल) बाँकेका प्रतिनिधि जगदीश ढकालको अध्यक्षतामा सम्पन्न समारोहमा स्वागत राजमो बाँकेका अध्यक्ष भीमप्रसाद देबकोटाले र सञ्चालन जातीय समता समाजका केन्द्रीय सदस्य मनबहादुर सुनारले गर्नुभएको थियो ।