काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
बुटवलमा आज प्रदेश प्रमुख अमिक शेरचनसमक्ष चौधरीले शपथ लिएका हुन्।
आजै ३ मन्त्रीले समेत शपथ लिएका छन्। यो सँगै लुम्बिनीमा ४ सदस्यीय मन्त्रिपरिषद गठन भएको छ।
माओवादी केन्द्रका धनबहादुर मास्के, लोसपाका सन्तोषकुमार पाण्डे र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीले प्रदेश प्रमुखबाट शपथ लिएका हुन्। उनीहरूको मन्त्रालय तोकिएको छैन।
यता, गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेद्रराज पाण्डेले पनि पदको शपथ खाएका छन्। बिहीबार मुख्यमन्त्रीमा नियुक्त पाण्डेलाई आज प्रदेशप्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।
पाण्डेले आफूसहित कांग्रेस नेतृ सरस्वती अर्याल र माओवादी केन्द्रबाट सुशीला सिंखडालाई बिनाविभागीय मन्त्री बनाएका छन्। सरस्वती स्याङ्जा र सुशीला गोरखाबाट सांसद बनेका हुन्।
सुरेन्द्र संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन्।
उनलाई कांग्रेसका २७ र माओवादी केन्द्रका सभामुखसहित ८ जना एवं नेकपा एकीकृत समाजवादीका सांसद राजीव गुरुङको समर्थन छ।
