• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

ओखरकोटको घर

"सङ्क्षिप्त संस्मरण शृङ्खला–११ "

  •   बुधबार, बैशाख १३, २०८० मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    सायद दाङको ‘बिगुल’ पत्रिकाले हो जस्तो लाग्छ, त्यसले मलाई एउटा प्रश्न सोधेको थियो– ‘तपाईंलाई संसारमा राम्रो ठाउँ कुन लाग्दछ ?’
    मैले जवाफ दिएको थिएँ– ‘ओखरकोट’ ।

    त्यो कुरा अवश्य पनि सत्य होइन । ओखरकोट संसारकै सबैभन्दा राम्रो ठाउँ अवश्य पनि होइन । कुनै ठाउँ कति राम्रो छ भन्ने कुरा मुख्य रूपले भौगोलिक पक्षद्वारा नै निर्धारित हुन्छ तर त्यसमा भावनात्मक पक्षले पनि धेरै काम गरेको हुन्छ ।

    ओखरकोटलाई संसारको सबैभन्दा राम्रो ठाउँ बताउनुका पछाडि मेरो भावनात्मक पक्षले नै काम गरेको छ । हामी त्यहाँ १४ पुस्तादेखि बस्दै आएका छौँ । त्यहाँका गाउँघर, रुखवृक्ष, खोलानाला, वारिपारिका डाँडापखेरा, चाडपर्व आदि सबैसित मेरो बाल्यकालदेखिकै चिनाजानी सम्बन्ध र आत्मीयता रहँदै आएको छ । सायद त्यसैले हुन सक्दछ, ओखरकोट मलाई सबैभन्दा राम्रो ठाउँ लाग्दछ ।

    ओखरकोट गाउँबाट निकाला भएपछि पिताजी खिमविक्रमले बाङ्गेको कौछेमा घर बनाउनुभयो । व्यावहारिक दृष्टिकोणले बस्नलाई कौछे धेरै सुगम छ । त्यहाँ पिताजीले बनाएको घर पनि ओखरकोटको भन्दा धेरै ठुलो र राम्रो थियो । यहाँ ‘थियो’ शब्द यसकारणले प्रयोग गरिएको छ कि कौछेको घर अहिले पनि छ तर ओखरकोटको पहिलेको घर अब हाम्रो छैन । फेरि पनि मैले पहिलेदेखि नै कौछेभन्दा ओखरकोटलाई नै बढी राम्रो मान्दै आएको छु ।

    म सानो छँदा पनि म कौछेभन्दा बढी ओखरकोटमा नै बसेँ । सानो छँदा म बढी मावल इस्मा मरुङ (गुल्मी) मा नै बसेँ । ठुलो भएपछि पढ्नका लागि धेरै वर्ष काठमाडौँमा बस्नुपर्याे तर जब पनि म प्युठान पुग्दथेँ, म ओखरकोट घरमा नै बस्न जान्थेँ । ओखरकोट स्वयम् पनि उच्च पहाडको शिखरमा धेरै राम्ररी बसेको छ । त्यसको बनावट पनि धेरै सुन्दर छ । त्योबाहेक ओखरकोटबाट चारैतिरका प्राकृतिक दृश्यहरू हेर्दा अत्यन्त आनन्द प्राप्त हुन्थ्यो । कतै बाहिरबाट आउँदा, भूमिगत कालमा प्युठानमा पुग्दा वा अरू अवसरमा पनि मौका पाउनेबित्तिकै म ओखरकोटमा पुग्ने गर्दथेँ । अहिले म ८९ वर्षमा लागेँ । अहिले पनि ओखरबोटबारे त्यही कुरा सत्य हो । म कतैबाट प्युठान पुगेँ भने एक दिन वा एक रातका लागि भए पनि ओखरकोट पुग्ने प्रयत्न गर्दछु । त्यहाँ पुगेपछि प्राप्त हुने सन्तोष अन्यत्रबाट प्राप्त हुनेभन्दा बेग्लै र उच्च प्रकारको हुन्छ ।

    ओखरकोटमा गत वर्ष हाम्रो नयाँघर बनेको छ । त्यो घर गाउँको सबैभन्दा अग्लो र सुन्दर ठाउँमा बनेको छ । त्यहाँबाट गाउँ, ओखरकोटको कोट, सूर्योदयको दृश्य र वारिपारिका धेरै राम्रा प्राकृतिक दृश्य देखिन्छन् ।

    त्यहाँ घर बनाउने मेरो धेरै पहिलेदेखिको सपना थियो तर आर्थिक कारणले मैले त्यो घर बनाउन सकेको थिइनँ । त्यहाँ घर बनाउने मेरो ठुलो इच्छा भएको कुरा दुर्गालाई थाह थियो । त्यसैले उनले आफै कस्सिएर त्यो घर बनाइन् । त्यो घर बनाउनुमा मेरो कुनै पनि सहयोग रहेन । मैले कतैबाट एक रुपियाँ पनि जुटाइनँ । म त्यसको घडेरी खन्न लागेका बेलामा एकपल्ट हेर्न गएको थिएँ । त्यो घर बनिसकेपछि मात्र आमा र बुबाको फोटोसहित उनले मलाई त्यो घरमा भित्राएकी थिइन् । त्यो घर वास्तवमा उनको तर्फबाट मेरालागि ठुलो उपहार हो ।

    त्यहाँ त्यो घर त बन्यो तर त्यसका पछाडि एउटा लामो दुखद र पीडादायी कथा छ । त्यसका पछाडि कैयौँ अन्तरद्वन्द्व र अन्तरविरोधका प्रसङ्ग जोडिएका छन् । त्यो कथा यो हो कि मैले नचाहँदा–नचाहँदै पनि म ओखरकोटबाट टाढा हुनुपरेको थियो र त्यसबाट म ठुलो मानसिक तनावमा परेको थिएँ । त्यो घर बन्नुका साथै मेरो त्यो तनाव हटेको छ ।

    पिताजीको मृत्यु हुने बेलामा म कपिलवस्तुको तौलिहवा जेलमा थिएँ । त्यति बेला दाजुभाइ र आमाको बिचमा घरजग्गाको अंशवण्डा हुन थाल्यो । मैले जेलबाट चिठी लेखेर पठाएँ : ‘मेरो अंशमा ओखरकोटको घरजग्गा पार्दिनू ।’ मेरो अंशमा ओखरकोटको जग्गा पारियो तर घरखेत र बारी मच्छीको पनि पारियो । मैले जेलबाट छुटेर आएपछि कौछेमा मेरो अंशमा परेका केही जग्गा आमाहरूसँग सट्टापट्टा गरेर ओखरकोटको जग्गा थप्दै गएँ ।

    ओखरकोटको घर र केही जग्गा दाजु लेटरविक्रमको अंशमा परेको थियो । उहाँले तराईमा बसाइँ सर्नका लागि ओखरकोटको घरजग्गा बेच्ने विचार गर्नुभयो । मैले भ्यागुतेको खेत बेचेर उहाँले बेच्न खोजेको घरजग्गा किन्ने विचार गरेँ । हामी दुई दाजुभाइका बिचमा त्यही सल्लाह भयो ।

    एक दिन म कौछेमा महेन्द्रको घरमा गएको थिएँ । उसले दाजु लेटरविक्रमले आफूमाथि केही अन्याय गरेको कुरा बतायो । त्यो के विषय थियो ? अहिले मलाई सम्झना छैन । ठिक त्यही बेला दाजु पनि कतैबाट महेन्द्रको घरमा आइपुग्नुभयो । मैले दाजुसित त्यो कुरा उठाएँ । मेरो कुरा सुन्नेबित्तिकै उहाँ जङ्गिनुभयो र हामी दुई दाजुभाइका बिचमा चर्काचर्की भयो । त्यसपछि उहाँ त्यहाँबाट अन्तै हिँड्नुभयो । जाँदाजाँदै उहाँले भन्नुभयो– ‘मैले अब ओखरकोटको जग्गा मोहनलाई दिन्नँ । त्यो घरजग्गा मैले दुस्मनलाई बेच्छु र उसको जग्गाका बिचमा मैले दुस्मनलाई राखिदिन्छु ।’ उहाँको जग्गाको तीनतिर मेरो जग्गा थियो । अन्तमा उहाँले त्यही गर्नुभयो । उहाँले आफ्नो घरजग्गा हाम्रो झगडा परेको मान्छेलाई बेचेर तराईतिर जानुभयो । त्यसपछि करिब पन्ध्र वर्षजति दाजु र मेराबिचमा आवतजावत र भेटघाट नै भएन । पछि भाउजु धेरै नै बिरामी भएको थाह भएपछि म उहाँलाई भेट्न बर्दिया गएँ । त्यसपछि हामी दुवै दाजुभाइका बिचको सम्बन्ध सामान्य आत्मीय बन्यो ।

    दाजुको व्यवहारबाट मलाई धेरै नै चोट पुगेको थियो र रिस पनि उठेको थियो । दाजुले मलाई आफ्नो घरजग्गा नबेच्ने ठेगान गरेपछि ओखरकोटको आफ्नो सबै जग्गाप्रति मेरो उत्साह घटेर गयो र त्यो जग्गा मैले बेचिदिएँ र मच्छीमा नै बस्न थालेँ ।

    भ्यागुतेको खेत बेचेर ओखरकोटको दाजुको जुन घरजग्गा किन्ने कुरा थियो, त्यो पैसाबाट हामीले कैलालीमा दुई बिगाह जग्गा किन्यौँ । पछि पार्टीले मेरो शान्तासित सम्बन्ध विच्छेद गरिदिने निर्णय गर्याे । उनीसित सम्बन्ध विच्छेद गर्ने बेलामा शान्तालाई एउटा चिठी लेखेर कैलालीको दुई बिगाह जग्गा उनको नाममा दिएँ । त्यो बेलाको “हाँक” मा उक्त चिठी प्रकाशित पनि भएको थियो ।

    त्यसपछि मसित मच्छीको घरजग्गा बाँकी रह्यो । पछि त्यो घरजग्गाबाट छोरा समीर र छोरी पूर्वालाई अंश दिएपछि मसित मच्छीको दुईओटा घर, एउटा थारो र खर्यानको एउटा टुक्रा मात्र बाँकी रह्यो । पछि विकसित एउटा घटनाक्रमका कारणले मच्छीको घरजग्गा पनि बेच्न म बाध्य भएँ (त्यो घटनाक्रमबारे मैले पछि बेग्लै लेख्ने छु) । त्यसपछि दुर्गा र मसित कतै कुनै घरजग्ग बाँकी रहेन ।

    दुर्गासित बिहे भएपछि हामीले ओखरकोटको विकासका लागि केही योजना बनाएर काम गर्न थाल्यौँ । त्यस सिलसिलामा “ओखरकोट पर्यटन एवम् ग्रामीण विकास समिति, प्युठान” गठन भयो, जसको अध्यक्ष दुर्गा नै बनेकी थिइन् । त्यो समितिले सिरुबारी, घान्दु्रक र बन्दिपुरमा ओखरकोटबाट त्यहाँको पर्यटनको अध्ययन गर्न ४०–५० जनाको टोली पठायो । काठमाडौँबाट प्रशिक्षक मगाएर गाउँमा होमस्टेको तालिम गर्न लगायो ।

    काठमाडौँबाट एउटा कन्सल्टेन्सीलाई बोलाएर अहिलेको झिमरुक र गौमुखी दुवै पालिका (त्यो बेला पालिकाको विभाजन भइसकेको थिएन) को विकासका लागि योजना बनायो । दुर्गाको नेतृत्वमा नै “ओखरकोट विश्वकोष परियोजना” बन्यो र त्यसले काठमाडौँ र जर्मनीबाट समेत करिब ४० जना विज्ञलाई बोलाएर “ओखरकोट विश्वकोष” निर्माणका लागि अध्ययन र अनुसन्धान गर्ने काम गर्याे (‘ओखरकोट’ पुस्तकमा त्यसको विस्तृत विवरण दिइएको छ । त्यही बेला प्रकाशित ‘ओखरकोट’ मा झिमरुक, गौमुखी र प्युठानका समेत धेरै फोटा दिइएका छन् । तिनीहरूको एउटा भिडियो क्यासेट पनि बनेको छ) ।

    झिमरुक गाउँपालिकासित सहकार्य गरेर ओखरकोटको ढाडामा रकगार्डेनको डिपिआर तयार भयो । उपर्युक्त कामहरूबाहेक ओखरकोटको विकाससम्बन्धी कामहरू सम्पन्न भएका छन् । दुर्गा सभासद भएपछि उनको सांसद विकाससम्बन्धी कोषको रकमबाट अरू पनि विकाससम्बन्धी कैयौँ कामहरू भएका छन् । पछि झिमरुक गाउँपालिकासितको सहयोगमा रतनकुमार राईको नेतृत्वमा काठमाडौँबाट गए कलाकारहरूको एउटा टोलीले झिमरुक र गौमुखी गाउँपालिकाका कैयौँ प्राकृतिक दृश्यका कलाकृतिहरूको पनि निर्माण गरिएको छ । काठमाडौँमा तीन दिनसम्म ती कलाकृतिहरूको प्रदर्शन गरिएको थियो । अहिले ती सबै कलाकृतिहरू झिमरुक गाउँपालिकामा सुरक्षित छन् । पछि सङ्ग्रहालय बनेपछि ती सबै कलाकृतिहरूलाई सङ्ग्रहालयमा नै राख्ने सोचाइ छ तर सङ्ग्रहालय नबन्दासम्म ती कलाकृतिहरू कार्यपालिकाको एउटा कोठामा राख्ने सल्लाह भएको छ र त्यसका लागि गाउँपालिकाले व्यवस्था गर्दै छ ।

    दाजुसित झगडा परेपछि र उहाँको घरजग्गा किन्न नपाएपछि मैले ओखरकोटको आफ्नो सबै जग्गा बेचेको थिएँ तर पछि मलाई महसुस भयो कि ओखरकोटको आफ्नो जग्गा बेच्नु मेरो ठुलो गल्ती थियो । पछि दुर्गा र मैले ओखरकोटमा सानो घडेरी किनेर भए पनि एउटा घर बनाउने सल्लाह गर्याेँ ।

    त्यसका लागि मैले आफ्नो पुरानो जग्गा भएको ठाउँमा नै घडेरी किन्ने कोसिस गरेँ तर पहिले मेरो जग्गा किनेका मान्छेमध्ये कोही पनि मलाई घडेरीका लागि जग्गा बेच्न तयार भएनन् । त्यसपछि हाम्रो दाजुभाइ पर्ने एक जना देवेन्द्र जिसी आफ्नो एउटा पाटो हाम्रो घर बनाउनका लागि दिन तयार भए ।

    उनले त्यो जग्गाको कुनै पैसा लिन मानेका थिएनन् । हामीले धेरै जोड गरेपछि उनी एकदम कम पैसा बुझ्न तयार भए । उनको छिट्टै मृत्यु भयो । अब उनका परिवार हाम्रा छिमेकमा छन् । देवेन्द्र मरेर गए पनि ओखरकोटमा घर बनाउनका लागि उनले अन्त कतै घडेरी किन्न नपाएको बेलामा हामीलाई घडेरीका लागि जग्गा दिन जुन सहायता गरे, त्यसका लागि हामी सधै उनीप्रति कृतज्ञ रहिरहने छौँ । पछि देवेन्द्रले हामीलाई दिएको घडेरीभन्दा केही माथि हामीलाई अरू एकदुई जना दाजुभाइले घडेरीका लागि जग्गा किन्न दिए ।

    अब हाम्रा हाम्रा लागि घडेरीको जग्गा प्राप्त भयो तर घर बनाउनका लागि पैसा जुटाउन धेरै नै मुस्किल भयो । त्यसैले कैयौँ वर्षौंसम्म हामीले त्यहाँ घर बनाउन सकेनौँ । कपिलवस्तुमा दुर्गाका साहिला दाइ शिव पौडेलले आफ्नी बहिनीको कतै जग्गा नभएको हुनाले दाजुभाइको अंशवण्डा गर्दा उनलाई पनि अंश लगाएर जग्गा दिने कुरा गर्नुभयो । सामान्यतः बिहे भइसकेकी छोरी वा बहिनीलाई अंश दिने गरिन्न तर उहाँले बिहे भइसकेकी बहिनीलाई पनि अंश दिने कुरा गर्नुभयो । उहाँहरूको अंशवण्डा हुँदा कपिलवस्तुको कोपवामा सात कट्ठा खेत दिनुभयो । पछि उनको कान्छा भाइ सुवर्ण पौडेलले पनि उनलाई कोपवाको नै सात कट्टा जग्गा थपिदिए ।

    अब हाम्राअगाडि ओखरकोट वा कोपवामध्ये कुनै पनि ठाउँमा घर बनाउनका लागि जग्गा थियो । हाम्रा कैयौँ साथीभाइले ओखरकोटको सट्टा कोपवामा नै घर बनाउने सल्लाह दिए । धेरै मान्छेहरू पहाड छाडेर तराईमा नै झरेका छन् । त्यो अवस्थामा तराईको सट्टा ओखरकोटमा घर बनाउनु उल्टो कुरो हुन्छ भन्ने उहाँहरूको राय थियो । घर बनाउनका लागि तराईका बजारमा धेरै सामान किन्नुपर्दथ्यो । ती सामान पहाडमा ढुवानी गर्दा बढी खर्च हुन्थ्यो भन्ने पनि उहाँहरूको मत थियो । बाटोघाटो, नजिकको राजमार्ग, अस्पताल, अन्नपानी आदि सबैमाथि विचार गर्दा तराईमा नै घर बनाउँदा राम्रो हुने कुरा सही थियो । दुर्गाका लागि पनि माइतीका नजिक घर बनाउँदा राम्रो हुन्थ्यो होला तर उनले मेरो मनको कुरा राम्ररी बुझेकी थिइन् ।

    ओखरकोट छोडेर तराईमा घर बनाउने कुरा मलाई नराम्रो लाग्ने कुरा उनलाई राम्ररी थाह थियो । त्यसैले उनले मसित एकपल्ट पनि तराईमा घर बनाउने कि भनेर सोधिनन् र ओखरकोटमा नै घर बनाउने कार्यमा लागिन् । ओखरकोट र आसपासका गाउँको विकासका लागि काम गर्दागर्दै उनले पनि त्यो गाउँलाई धेर माया गर्न थालेकी थिइन ।

    अब मलाई यसका लागि खुसी लागेको छ कि गत वर्ष ओखरकोटमा हाम्रो घर बनेको छ । त्यो घर निर्माणमा साथीहरूले पनि धेरै मदत गर्नुभएको छ भने धेरैतिरबाट ऋणसापटी पनि लिनुपरेको छ । उनले कतिपय बेला घर बनाउँदा लिएको सरसापटी वा छड, सिमेन्ट, फर्निचर आदिको तिर्न बाँकी रहेको हिसाब सुनाउँछिन् तर मैले केही पनि जवाफ दिन्नँ, दिन पनि सक्दिनँ किनभने त्यो पैसा तिर्न मदत गर्ने मसित कुनै उपाय पनि छैन । उनले त्यो कुरा बुझेकी छिन् । त्यसैले उनले घरव्यवहारसम्बन्धी कुनै कुरा गरे मलाई तनाव दिन चाहन्निन् ।

    अहिले पनि उनलाई एउटा कुराको चिन्ता छ : त्यो घरमा एक तला थपिदिने । त्यसो गर्न पाए ठाउँ ठाउँमा कोठा सार्दा सारिरहनुपर्ने मेरा पुस्तकहरू एकै ठाउँमा सुरक्षित प्रकारले राखिदिनुपाए हुन्थ्यो भन्ने उनलाई चिन्ता छ । एकपल्ट मेरो छोरा विश्वले ओखरकोटमा राम्रो घर बनाउने कुरा गरेको थियो तर धेरै मान्छेका छोराछोरी नेपालमा बस्नेभन्दा विदेशमा नै जाने गर्दछन् । त्यसैले विश्व पनि विदेशमा गएर उतै हराउने छ वा नेपालमा पहाडको घरमा बस्ने छ ? यो भविष्यमा नै थाह हुने छ तैपनि मैले उसलाई बारम्बार यो सल्लाह दिने गरेको छु : ‘अहिले उसले पढ्न थालेको विषय कम्प्युटर, इन्जिनियरिङमा डिग्री गर्नू । त्यसपछि ग्रामीण विकास (आर.डी.) मा डिग्री गर्नू र त्यही विषयमा पिएचडी गर्नू । त्यसपछि तिम्रा बाबुआमाले सुरु गरेको ओखरकोट र नेपालभरिका गाउँको विकासका लागि काम गर्नू ।’

    मैले ठुलो छोरा समीरले गणित र दर्शनशास्त्रमा डिग्री गरेपछि दर्शनशास्त्रमा नै पिएचडी गर्न भनेको थिएँ तर ऊ व्यापारतिर लाग्यो, दर्शनशास्त्रमा पिएचडी गर्ने कामपट्टि लागेन । अब विश्वले मेरो सल्लाह कति मान्छ ? त्यो पनि भविष्यमा नै थाह हुने कुरा हो ।

    त्यो ता घरको कुरा भयो । त्योबाहेक गाउँको विकासबारे पनि हामी दुवैलाई चिन्ता छ तर कुरा के हुन्छ भने मैले गाउँको विकासबारे कैयौँ योजना बनाए पनि तिनीहरूलाई पूरा गर्नका लागि डौडधुप गर्ने वा व्यावहारिक रूप दिने काम उनले नै गरेकी हुन्छिन् ।

    पहिले पिताजी खिमविक्रमले मैले बनाएका योजना पूरा गर्न धेरै मदत गर्नुहुन्थ्यो । बालशिक्षा स्कुलको भवन निर्माणको कार्यसहित स्कुलको लागि उहाँले धेरै नै मदत पुर्याउनुभएको थियो । राटामाटामा तीन महिनासम्म चलेको शिविरमा पनि उहाँले धेरै सहयोग गर्नुभएको थियो । प्युठानको भ्रष्टाचार विरोधी आन्दोलन र त्यसपछि हामीलाई जेलबाट छुटाउन पनि भूमिगत रूपले मलाई धेरै मदत गर्नुभएको थियो । प्युठानका किसान आन्दोलन र २०१५ सालमा म संसद्का लागि उम्मेदवार हुँदा पनि उहाँले धेरै मदत गर्नुभएको थियो ।

    अब दुर्गाले पहिले पिताजी मत पु¥याए जस्तै मलाई धेरैतिरबाट सहयोग पु¥याउने गरेकी छिन् । उनले पहिले पनि त्यसरी धेरै काम गरेकी छिन् र अहिले पनि गरिरहेकी छिन् ।

    यो कुरा बेग्लै हो कि त्यसरी विकाससम्बन्धी कार्यमा डौडधुप गरेको हुनाले उनले धेरै आलोचना, विवाद र गालीको सामना गर्नु परिरहेको छ । त्यही प्रकारले ओखरकोटमा घर बनाएकोमा पनि उनको कैयौँतिरबाट धेरै आलोचना भएको छ । त्यसबारे प्रश्न उठाउने गरिएको छ : उनीसित त्यो घर बनाउँदा प्राप्त भएको सहयोग वा ऋणसापटीको पूरा हिसाब छ ? अब उनी यो कुराबाट धेरै तनावमा छिन् कि त्यो ऋण कसरी तिर्ने ? जस्तो कि माथि लेखियो, उनलाई मेरा पुस्तकका लागि घरमा एक तला थप्नेको पनि चिन्ता छ ।

    अन्तमा, ओखरकोटमा बनेको मेरो नयाँघरकै कुरा । ओखरकोटमा मेरा सबै घरजग्गा समाप्त भएपछि १४–१५ पुस्तादेखिको मेरो त्यो गाउँसितको सम्बन्ध टुटेको थियो । त्यो घर बनेपछि त्यो गाउँसितको मेरो पुख्र्याैली सम्बन्ध पुनः कायम भएको छ । त्यसका लागि दुर्गालाई धन्यवाद । मेरा छोराहरूले पनि गाउँसितको त्यो सम्बन्धलाई अरू अगाडि बढाउने काम गरेमा त्यो मेरा लागि धेरै खुसीको कुरा हुने छ र मेरो त्यो कामना पनि छ ।

    बुधबार, बैशाख १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    जेनजीले दिएको अविस्मरणीय घाउ : रेट्रोफिट हुन नसक्ने भएपछि सङ्ग्रहालय बनाइँदै
    मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
    सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र संकटमा : श्रेष्ठ
    मल किन्न भारत गएका दुई नेपाली २२ दिनदेखि भारतीय जेलमा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.