काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपाल र साउदीअरबबीचको खेल खराब मौसमका कारण रद्द भएको छ ।
मूलपानी क्रिकेट मैदानमा आज हुने भनिएको नेपाल र साउदीअरबबीचको खेल लगातार वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले समान एक/एक अंक बाँडेका छन् ।
यससँगै नेपाल पाँच अंक जोड्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नेपाल तीन खेलमा दुईमा जित र एक खेलमा अंक बाँड्दै पाँच अंकका साथ समूह ए को शीर्ष स्थानमा छ ।
समूह ए मा नै रहेका ओमान समान तीन खेलबाट चार अंकसहित दोस्रो स्थानमा छ भने समान खेलबाट दुई अंक जोडेको मलेसिया तेस्रो स्थानमा छ । त्यस्तै साउदीअरब दुई अंकका साथ चौथो स्थानमा छ । कतारले भने अंक जोड्न सकेको छैन ।
उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ । ती समूहलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदीअरब, कतार र ओमान रहेका छन् ।
त्यस्तै समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङ्कङ र युएई रहेका छन् । हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोलीले सेमिफाइनल खेल्ने छन् । रासस