बेइजिङ । खालिस्तान समर्थक नेता अमृतपाल सिंहलाई पक्राउ गरिएको छ । उनलाई पन्जाबको मोगाबाट अप्रिल २३, २०२३ का दिन बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनी गत मार्च १८ देखि फरार थिए । पन्जाब प्रहरीले सोही दिनदेखि उनी र उनको सङ्गठन ‘वारिस पञ्जाब दे’ विरुद्ध कारबाही सुरु गरेको थियो ।
अमृतपाल सिंहलाई राष्ट्रिय सुरक्षा ऐन (एन.एस.ए.) अन्तर्गत पक्राउ गरिएको हो । सिंह र उनका सहयोगीमाथि वर्गविभेद फैलाएको, ज्यान मार्ने प्रयास गरेको, प्रहरीमाथि हमला, सरकारी कर्मचारीका कानुनी काममा बाधा पुर्याएको अभियोगमा फौजदारी मुद्दा चलाइएको थियो ।
गत मार्च २८ मा अमृतपाल र उनका सहयोगी पन्जाबकै होसियारपुरमा रहेको गोप्य जानकारी पाएपछि प्रहरीले खोजी अभियानलाई तीव्र पारेको थियो ।
पन्जाब प्रहरीले राज्यका बासिन्दालाई शान्तिसुव्यवस्था र सद्भाव कायम राख्न अपिल गर्दै भ्रामक समाचार नफैलाउन आग्रह गरेको छ । प्रहरी कारबाहीसम्बन्धी विवरण क्रमश: सार्वजनिक गरिने पञ्जाब प्रहरीले सामाजिक सञ्जालमार्फत जनाएको छ ।
गुप्तचर निकायका अनुसार अमृतपाल सिंहले पाकिस्तानी गुप्तचर निकाय इन्टर सर्भिसेस इन्टेलिजेन्समार्फत हतियार ल्याएर पन्जाबलाई साम्प्रदायको आधारमा विभाजन गर्न खोजेका छन् । उनीमाथि युवावर्गलाई बन्दुक संस्कृतितर्फ डोर्याएको आरोप छ । (रासस/एनआई)