गोपालप्रसाद भट्टराई, अर्घाखाँची ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताका कारण मुलुकमा समस्या थपिँदै गएको बताउनुभएको छ ।
शुक्रबार सन्धिखर्कमा आयोजित राजमो अर्घाखाँचीको पाचौँ जिल्ला सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष केसीले संघीयताले देशलाई संकटमा धकेलेको बताउनुभयो ।
उहाँले संघीयताको विरोध गर्दा आफ्ना कार्यकर्ता ठाउँ ठाउँमा कुटाइ खाएको स्मरण गर्दै जनताले दुस्परिणाम भोगेपछि बल्ल बुझ्दै गएको बताउनुभयो ।
‘संघीयताको विरोध गर्दा जनमोर्चाका कार्यकर्तासम्मले ठाउँ ठाउँमा कुटाई खाए । म सदनमा एक्लै भएपनि फरक मत राखेँ’ केसीले भन्नुभयो, ‘जनताको भावनालाई कसैले कहिल्यै पनि बुझेनन् । आज बल्ल गलत थियो भन्ने कुरा समयक्रमले बताउँदै छ ।’
अध्यक्ष केसीले सता स्वार्थका लागि नेपालका राजनैतिक दलहरुले जे पनि गर्दा मुलुकमा विभिन्न खालका समस्याहरु थपिँदै गएको भन्दै शिक्षा, स्वास्थ्य र वेरोजगारी समस्याले विकराल रुप लिँदै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘देशमा आर्थिक संकट हुने परिस्थीती निर्माण भइसकेको छ । पुँजीवादी संंघीयताले जनताको समस्या सामाधान होइन् कि झन् जनतालाई भारी थप्न्ने काम बाहेक अरु गर्न सक्नेवाला छैन । फेरि एक पटक संघीयता खारेजीका लागि जनता फेरि सत्यको पक्षमा न्याए र समानताका पक्षमा बलियो गरि उभिनुपर्ने अवस्था सिर्जना भएको छ ।’
नेपालमा संविधान जारी भएपछि तीन तहका सरकारहरुले जनतालाई सेवाको उत्पादन र वितरण सरल र सहज तरिकाले दिएका छन् त भनि प्रश्न प्रतिप्रश्न गर्ने बेला आएको भन्दै केसीले आज रुँदै मिटरब्याजी पीडित हिँड्दै राजधानी पुग्दा समेत प्रदेश सरकार र स्थानीय सरकारले के हेरिरहेका छन् ? गाउँ गाउँका सिंहदरवार कहाँ छ ? भनि प्रश्न गर्नुभयो ।
विदेशी दलाल र पुँजीबादको कारण चुनावमा अब नीति, कार्यक्रम, विचार र नेतृत्व भन्दा पनि पैसाको हिसाव किताबमा मात्र प्रतिनिधी चुनिने अवस्था आएको बताउनुभयो । उहाँले नागरिकता नै नभएको ब्यक्तिलाई समेत सांसद र गृहमन्त्री सम्म बनाउने परिस्थीमा पुगेको भन्दै अध्यक्ष केसीले बिकृती बिसंगतीको दिन प्रतिदिन मौलाउँदै गएको बताउनुभयो ।
सता प्राप्ती र अनेक खालका प्रलोभनका कारण राजनैतिक दलले राष्ट्र र राष्ट्रियतालाई गम्भीर खतरा हुने गतिबिधीहरु गर्दै जाँदा जनतामा पनि राजनीतिप्रति वितृष्णा उत्पन्न भई विकल्प खोज्न लागेको केसीले बताउनुभयो ।

पुराना दल र नेताहरु पनि निजी स्वार्थमा चुर्लुम्म डुबेकाले देशको स्थिती भयावह भइसकेको उहाँले बताउनुभयो ।
‘नयाँहरु विदेशी ईशारामा काम गर्ने, पुरानाहरु भ्रष्टाचारमा लिप्त छन’, उहाँले भन्नुभयो, ‘अब नेपालको स्थिती के हुने हो ? सम्झँदा पनि डर लाग्छ।’
‘गणतन्त्र, राष्ट्रियताको रक्षा, संघीयताको खारेजीको लागि आन्दोलन ! वातावरण सन्तुलनसँगै समुन्नत अर्घाखाँचीको लागि पाचौँ जिल्ला अधिवेशन’ भन्ने मूल नाराका साथ आयोजना गरिएको राजमो अर्घाखाँचीकोे जिल्ला सम्मेलन बाजागाजा र नाराजुलुससहित सन्धिखर्क बजार परिक्रमा गरि सभाहलमा उद्घाटन गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता शुरेस थापा, केन्द्रीय सदस्हरु झबिलाल थापा, सागर केसी, प्रदेश सल्लाहकार शेरबहादुर बिसी, महिला संघका महासचिव शकुन्तला राना, माओवादी केन्द्रका केन्द्रीय सदस्य छमकुमारी खनाल चिनारी, नेकपा एमालेका प्रदेश सदस्य जनार्दन खनाल, नेपाली कांग्रेसका जिल्ला उपसभापति विष्णु भुसाल, नेकपाका तुलाराम बस्याल, पत्रकार महासंघका अशोक खनाल, कर्मचारी संगठनका रामजी भट्टराईलगायत पार्टीका विभिन्न जनवर्गीय संगठनका नेताहरुले सम्मेलन सफलताको शुभकामना दिएका थिए ।
जिल्ला अध्यक्ष थम्मन केसीको अध्यक्षता, उपाध्यक्ष गोपाल पौडेलको स्वागत तथा सचिव बावुराम पन्थी सुनारको सञ्चालन कार्यक्रम भएको थियो । भोलिसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ ।