बुटवल । सरकारी छाप दुरुपयोग गरी प्रहरीको बदनाम गराउन खोजेको आरोपमा रुपन्देहीबाट एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय अगाडि स्टेशनरी सञ्चालन गर्ने ४५ वर्षीय पूर्वप्रहरी भानबहादुर अधिकारी रहेका छन् ।
अधिकारीले आफ्नो स्टेसनरीबाट प्रहरीको निवेदनलाई स्क्यान गरी विवरण थपघट गरी आफ्नो जिमेल आईडीबाट विभिन्न पत्रिका तथा अनलाइन मिडियामा जिल्ला प्रहरी कार्यालय सरकारी छाप समेत प्रयोग गरी झुठ्ठा भ्रामक विवरण प्रेषित गरेको प्रहरीको भनाई छ।
रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार गत चैत ३० गते काठमाडौंबाट प्रकाशित पत्रिकामा ‘प्रहरीमाथि अर्को गम्भीर आरोप, निवेदनको नाममा ५ सय रुपैयाँ असुली’ भन्ने शिर्षकमा समाचार प्रकाशित भएको थियो। उक्त समाचारमा ठाडो उजुरी शाखाबाट निवेदन लेखे वापत रु ५ सयका दरले प्रहरीले पैसा लिने गरेको भनि नाम समेत किटान गरिएको थियो। सोधपुछका क्रममा निवेदकहरुले आफूले त्यसरी निवेदन लेखिदिए बापत कोही कसैलाई नगद नदिएको बताएका थिए।
विवरणसँगै झुटा निवेदन बनाएर प्रहरीमा दर्ता भएजस्तै गरेर जिल्ला प्रहरीको किर्ते छाप लगाएको निवेदन पनि पठाउने गरेको प्रहरी दाबी छ ।
अधिकारी केही समयअघिसम्म जिल्ला प्रहरी कार्यालयमा आउने सेवाग्राहीहरुको निवेदनहरु लेख्ने र शुल्क लिने गर्दै आएका थिए।
३ महिना यता जिल्ला प्रहरी कार्यालयले नागरिकको सेवा सुविधाको लागि निशुल्क निवेदन लेख्ने व्यवस्था गरेको थियो। कार्यालयले नै निशुल्क निवेदन लेखिदिन थालेपछि उनको आम्दानी घट्यो। आफ्नो आम्दानीको बाटो हराएपछि अधिकारीले रिसिवी राखी प्रहरीमाथि गम्भीर आरोप लगाउँदै भ्रामक झुटा समाचार बनाई पठाउने गरेको डिएसपी अर्यालको भनाइ छ।